किम जोङ उन फेरि चीन गएको हल्ला



काठमाडौं । जापान र दक्षिण कोरियाका सञ्चारमाध्यमले उत्तर कोरियाली नेता किम जोङ उन फेरि चीन गएको हुन सक्ने बताएका छन्। चीनको उत्तरपूर्वी सहर डालियनमा सोमबारदेखि नै सुरक्षा व्यवस्था कडा पारिएको छ।

सडकमा थुप्रै सुरक्षाकर्मी परिचालन गरिएको छ। गत मार्चमा रेल लगेर बेइजिङ गएका किम यसपालि जहाजमा डालियन गएको हुन सक्ने जापानको सरकारी टेलिभिजन एनएचकेले जनाएको छ। उसले मंगलबार दिउँसो उत्तर कोरियाको एयर कोर्योका दुईवटा जहाज डालियन विमानस्थलमा देखिएको उल्लेख गरेको छ। उत्तर कोरिया र डालियनबीच व्यवसायिक उडान छैन।

दक्षिण कोरियाली समाचार संस्था यान्होपले उत्तर कोरियाली स्रोतलाई उद्धृत गर्दै सोमबार उत्तर कोरियाका उच्च नेता चीन आएको र चिनियाँ अधिकारीसँग भेटेको जनाएको छ। यान्होपले किम दोस्रो पटक चीन गएको हुनसक्ने उल्लेख गरेको छ। दक्षिण कोरियाली टेलिभिजन केबिएसका अनुसार आफूले बनाएको एयरक्राफ्ट क्यारियर (विमानबहाक पानीजहाज) को परीक्षणका लागि चीनले उत्तर कोरियाली नेतालाई बोलाएको हुन सक्छ।

त्यहाँ चिनियाँ राष्ट्रपति सी चिनफिङ र किमबीच भेट हुने सम्भावना छ। दक्षिण कोरियाको राष्ट्रपति कार्यालयले विकसित घटनाक्रमलाई ध्यानपूर्वक नियालिरहेको बताएको छ। यसअघि गत मार्चमा किम हरियो रङको रेलमा चढेर बेइजिङ गएका थिए।

प्रतिक्रिया दिनुहोस्