बस दुर्घटना हताहत हुनेमा माओका नाति



बेइजिङ, (एजेन्सी)
उत्तर कोरियाको बस दुर्घटनामा हताहत भएका ३४ चिनियाँमा सैन्य सेवामा रहेका पूर्वचिनियाँ नेता माओत्सेतुङका एक सन्तान पनि परेको हुनसक्ने जनाइएको छ।

न्यु ताङ डायनास्टी टेलिभिजन र चिनियाँ भाषाको रेडियो फ्रान्स इन्टरनेसनले दिएको समाचारमा चिनियाँ सरकारले गत अप्रिलको उक्त दुर्घटनामा मारिएका २६ जना चिनियाँ नागरिकको पहिचान मात्र सार्वजनिक गरिएको उल्लेख गरेका छन्।

उत्तर कोरियाको भ्रमणका क्रममा दुर्घटनामा मृत्यु भएका अन्य ८ जना चिनियाँ नागरिकको नाम भने बेइजिङले सार्वजनिक नगरेको दक्षिण कोरियाली समाचार सेवा न्युसिसले जनाएको छ। ती आठ जनामा माओका ४८ वर्षीय नाति माओ सिन्यु भएको चिनियाँ भाषाका सञ्चार माध्यमहरूले जनाएका छन्।

माओ सिन्युलाई चीनको सबैभन्दा कम उमेरमा सन् २००९ मा जनरल पदमा बढुवा गरिएको ताइवान न्युजले जनाएको थियो। तर उनको उपस्थिति, भाषण तथा लेखनलाई लिएर चिनियाँ सामाजिक सन्जालमा ठट्टामा उडाउने काम हुने गरेको उक्त समाचार एजेन्सीले जनाएको थियो।

उनी माओत्सेतुङका अन्तिम जीवित छोरा माओ एन्क्विङका एक मात्र छोरा थिए। माओ एन्क्विङको सन् २००७ मा निधन भएको थियो।

उक्त चार्टर बसमा यात्रा गरिरहेका चिनियाँ यात्रुहरू प्रायः सन् १९५०–५३ कोरियाली युद्धमा लडेका योद्धाका सन्तानहरू भएको बताइएको छ। माओ सिन्युले पाँचपटक उत्तर कोरियाको भ्रमण गरिसकेको बताएका थिए र उनले उत्तर कोरियाका संस्थापक किम इल सुङसँग दुई पटक भेटेको पनि दाबी गरेका थिए।
दुर्घटनामा बचेका केही घाइतेहरूलाई भेट्न उत्तर कोरियाका नेता किम जोङ उन तत्काल अस्पताल पुग्नुले पनि ती चिनियाँ आगन्तुकहरूको प्रतिष्ठा उच्च भएको अनुमान गर्न सकिने बताइएको छ।

किमले प्योङयाङ स्थित चिनियाँ दूतावासमा ‘अन्त्यन्त मर्माहत‘ भएको उल्लेख गर्दै दुःख व्यक्त गरेका थिए।

चिनियाँ राष्ट्रपति सी जिनपिङले गत मार्चको आकस्मिक भ्रमणपछि प्योङयाङसँग सम्बन्ध सुधार गर्न ध्यान केन्द्रित गरिरहेका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र किमबीचको अत्यन्त अपेक्षित शिखर वार्तापछि चिनियाँ नेताले उत्तर कोरियाको भ्रमण गर्ने अुनमान गरिएको योनहापले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्