विश्वमै दोस्रोपटक अनुहार प्रत्यारोपण



पेरिस, (एजेन्सी)
अनुहारको दुईपटक प्रत्यारोपण गरिएका विश्वकै पहिलो व्यक्तिले आफ्नो स्वास्थ्य स्थिति ठीकै रहेको बताएका छन् । फ्रान्सका ४३ वर्षीय जेरोम ह्यामोनको तीन महिनाअघि ऐतिहासिक शल्यक्रिया भएकोे थियो ।

रुघा लागेका बेला उपचारका क्रममा नमिल्ने एन्टिवायोटिक्स सेवन गरेको कारण गत वर्ष समस्या देखिएपछि उनको अनुहारमा गरिएकोे पहिलो प्रत्यारोपण हटाइएको थियो । उनको शरीरलाई मिल्ने अंग दाताको खोजीको क्रममा उनी फ्रान्सको राजधानी पेरिसको एउटा अस्पतालमा दुई महिनासम्म बिनाअनुहार बस्नुपरेको थियो ।

उनले भनेका छन्– ‘पहिलोपटक मेरो अनुहार तत्कालै शरीरले स्वीकार गरेको थियो । यसपालि पनि त्यस्तै भयो । ह्यामोनलाई एक किसिमको आनुवंशिक रोग न्युरोफाइब्रोम्याटोसिस टाइप १ नामक रोग लागेको हो ।

जसका कारण अनुहारमा पलाएको ट्युमरबाट उनी कुरुप हुन पुगेका थिए । सन् २०१० मा भएको उनको पहिलो शल्यक्रिया पूर्ण सफल रहेको थियो । तर सन् २०१५ मा रुघा लागेको बेला खाइएका एन्टिबायोटिक्सका कारण उनको अनुहारमा प्रत्यारोपित पदार्थ प्रभावित हुन पुगेको थियो ।

सन् २०१६ को नोभेम्बरमा एन्टिबायोटिक्सकै कारण नेक्रोसिसको समस्या देखिएपछि उनको अनुहार हटाइएको थियो । फलस्वरुप ह्यामाने गत जनवरीसम्म अंगदाताको पतीक्ष्ाँमा पेरिसको जर्जेज पाम्पिदोउ अस्पतालमा देख्न , बोल्न र सुन्न नसक्ने स्थितिमा दुई महिना बसेका थिए ।

अनुहारमा पुन अर्को समस्या नदेखियोस् भन्ने उद्देश्यले फ्रान्सको सञ्चार माध्यमले उनलाई ‘तीनवटा अनुहार भएको पुरुष’ को संज्ञा दिएको हो । सन् २००५ मा पहिलो पटक उत्तरी फ्रान्समा अनुहारको प्रत्यारोपण गरिएको हो । त्यसपछि विश्वमा करिब ४० वटा अनुुहार प्रत्यारोपणका लागि शल्यक्रिया भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्