विनी मन्डेलाको स्वतन्त्रता नायिकादेखि राजनीतिक पतनसम्मको यात्रा

0
Shares

जोहानेसबर्ग, (एजेन्सी)
दक्षिण अफ्रिकाका रंगभेद विरोधी नेता नेल्सन मन्डेला २७ वर्षको जेल यात्रापछि सन् १९९० मा बाहिर आउँदा उनीसँग एक महिला देखिएकी थिइन्। उक्त क्षणलाई क्यामरामा कैद गरियो। यो तस्वीर लामो समयसम्म नस्लभेदविरुद्ध संघर्षको प्रतीकका रूपमा हेरिने गरेको छ।

मन्डेलासँग हातमा हात मिलाउँदै देखिएका ती महिला उनकी पत्नी विनिफ्रेड माडिकिजेला थिइन्। विनीको नामले चिनिएकी विनीफ्रेड मन्डेलाको ८१ वर्षको उमेरमा सोमबार राती निधन भयो। उनको निधनले उक्त तस्वीर आम नागरिकको दिमागमा आएको छ।

विनी माडिकिजेलसँग मन्डेलाको प्रेम त्यतिबेला उत्कर्समा थियो जब उनी देशद्रोहको मुद्दा खेपिरहेका थिए। विनी त्यतिबेला २२ वर्षकी थिइन्। मन्डेलाभन्दा २२ वर्षले कान्छी विनीको सामाजिक कार्यकर्ताका रूपमा राजनीतिक ज्ञान पनि तिखो थियो।

नेल्सन मन्डेलाले आफ्नो आत्मकथामा लेखेका छन्– ‘म उनको प्रेममा परिरहेको थिएँ र उनलाई राजनीतिज्ञ पनि बनाइरहेको थिएँ।’


विनीका अनुसार मन्डेलाले उनलाई कहिल्यै औपचारिक रुपमा प्रपोज गरेनन्। उनले भनेकी थिइन्– ‘एक दिन नेल्सनले बाटोमा हिँड्दै गर्दा भने, के तिमी त्यो ड्रेस डिजाइल महिलालाई चिन्छौ? तिमीले ऊसँग अवस्य भेट्नुपर्छ, उसले तिम्रो लागि विवाहको पहिरन तयार गर्दै छिन्। तिमी आफ्ना तर्फबाट कति जनालाई निम्तो दिन चाहन्छइै?’
विनीले भनिन्– ‘यसरी मलाई उनले मेरो विवाह उनैसँग हुन लागेको बताएका थिए। मैले रिस देखाइन। मात्र यति सोधेँ, कहिले?’

विवाहका लागि सरकारको अुनमति
सन् १९८३ मा फिल्म निर्माता केविन ह्यारिसलाई दिएको एक अन्तर्वार्तामा विनीले आफू एक कैदीसँग विवाह गर्न गइरहेको मात्र नभएर उनी एक प्रकारले प्रतिबन्धित पनि भएको बताएकी थिइन्। प्रिटोरियामा उनको मुद्दाको सुनुवाइ भइरहेको थियो।

उनले विवाहका लागि सरकारसँग अनुमति लिनुपरेको थियो। ट्रान्सकेई गएर विवाह गर्नका लागि उनले ४ दिन पाएका थिए।

विनीले बीबीसीलाई हाइस्कुलमा पढिरहँदा उनले मन्डेलाको नाम सुनेको बताएकी थिइन्। अन्तर्वार्तामा उनले मन्डेलासँगको सम्बन्धका विषयमा केही रोचक कुरा गरेकी थिइन्।

हाइस्कुलमा पढाइका क्रममा हामी विश्वमा भइरहेका सम्पूर्ण आन्दोलन र संघर्षका बारेमा पढिरहेका थियौं। त्यहीबेला मैले ती कालो व्यक्तिका बारेमा पनि सुनँे, जो अन्यायका विरुद्ध लडिरहेको थियो।

मैले सबैभन्दा पहिला ऊसँग मेरो एक साथीको माध्यमबाट भेटेकी थिएँ। यो सन् १९५७ को घटना हो। मेरी सहेली मेरा दाजुको पत्नी पनि थिइन्। हाम्रो दोस्रो भेट आकस्मिक रुपमा भयो।

हामीले एउटा गल्लीमा भेटेका थियौं। मैले उनलाई अनौठो र सम्मानपूर्वक अनुहारमा हेरेकी थिएँ। ऊ त्यही व्यक्ति थियो, जसको बारेमा हामीले धेरै कुरा सुनेका थियौं।
त्यतिबेला मलाई थाहा थिएन कि कुनै बेला म उनको घरमा उनकी पत्नी भएर आउँछु।

विनीले मन्डेलासँग विवाह गरेपछि आफू झन् बलियो भएको र आफूले लगातार संघर्ष गर्न सिकेका बताइन्।

विनीको जन्म सन् १९३६ मा इस्टर्न केपमा भएको थियो। मन्डेलासँग भेटेको एक वर्षपछि सन् १९५८ मा नै विनीको उनीसँग विवाह भएको थियो। त्यतिबेला उनी प्रशिक्षित सामाजिक कार्यकर्ता थिइन्। विनी र नेल्सन मन्डेला ३८ वर्षसम्म विवाहित जोडीका रूपमा रहे। यद्यपि ती दुईले अत्यन्तै कम समय मात्र सँगै बिताउन पाएका थिए। विवाह भएको ३ वर्षपछि नै मन्डेला भूमिगत भएका थिए। यसक्रममा पक्राउ परेपछि उनलाई जेलमा राखिएको थियो।

मन्डेला र विनीका दुई छोरी छन्। मन्डेला जब जेलमा थिए त्यतिबेला विनीले नै उनको आन्दोलनलाई बाहिर बसेर अगाडि बढाएकी थिइन्। त्यसपछि उनलाई पनि जेल सजाय दिइयो। यसबाट उनले नयाँ पहिचान पनि पाइन्। रंगभेदविरुद्ध विनीको संघर्ष र मन्डेलालाई लगातार साथ दिएकोमा नागरिकहरु उनलाई राष्ट्रमाता भन्न थालेका थिए।

विवादको लहर
विनीको जीवनीमा सबै कुरा राम्रो मात्र रहेनन्। उनी धेरै विवादमा रहिन् र कयौं काण्डमा उनको नाम मुछिएको थियो। जब नेल्सन मन्डेला दक्षिण अफ्रिकाको प्रथम अश्वेत राष्ट्रपति बने, उनले आफ्नी पत्नी विनीलाई क्याबिनेटमा स्थान दिएका थिए। तर केही समयपछि नै पार्टीको पैसा चलाएको विषयमा विनी मन्डेलामाथि प्रश्न उठ्न थाल्यो। उनको छवि राजनीतिक र कानुनी रुपमा कलंकित बन्दै गयो।

राजनीतिक जीवनको कठिन घडीमा नेल्सन मन्डेलाले उनलाई लगातार साथ दिइरहे। तर पनि उनीहरुको वैवाहिक जीवनले निरन्तरता पाउन सकेन। सन् १९९६ मा अन्ततः उनीहरबीच सम्बन्ध विच्छेद भयो।
सम्बन्ध विच्छेदपछि पनि विनी मन्डेलाले आफ्नो नामसँग मन्डेला थरलाई हटाइनन् र मन्डलासँगको आफ्नो मित्रता पनि अन्त्य गरेकी थिइनन्। सम्पूर्ण विवादपछि पनि उनी राजनीतिमा सक्रिय रहेकी थिइन्। तर सन् २००३ मा उनलाई धोखाघडीको एक मामिलामा दोषी पाइएपछि उनी पुनः एकपटक विवादमा घेरिएकी थिइन्। यसले उनको राजनीतिक व्यक्तित्व पनि करिब करिब समाप्त पार्यो।