रसियाले थप कूटनीतिज्ञ निष्कासन गर्ने

0
Shares

मस्को, (एजेन्सी)
रसियाले बेलायतमा एकजना रुसी पूर्व गुप्तचर र उनकी पुत्रीमाथि गरिएको नर्भ एजेन्ट आक्रमण विवादलाई लिएर पश्चिमी राष्ट्रका अझै धेरै कूटनीतिज्ञलाई निष्कासनका लागि शुक्रबार आदेश दिएको छ। बेलायतले सबैभन्दा पहिले यसै विवादलाई लिएर २३ जना रुसी कूटनीतिज्ञलाई गुप्तचरको संज्ञा दिँदै देशनिकाला गरेको थियो।

बिहीबार मात्र रसियाले सेन्ट पिटर्सवर्गस्थित अमेरिकी कूटनीतिक नियोग बन्द गरी ६० जना अमेरिकी कूटनीतिज्ञलाई देशनिकालाको आदेश दिएको थियो। बेलायतले सालिस्वरीमा रुसी गुप्तचर सर्गेइ स्क्रिपल र उनकी पुत्री युलियामाथि भएको नर्भ एजेन्ट आक्रमणका लागि रसियालाई दोष दिएको थियो।
तर रसियाले सो आरोप ठाडै अस्वीकार गरेको छ।

ती बाबु–छोरीको अहिले बेलायतको एक अस्पतालमा चिन्ताजनक स्थितिमा उपचार भइरहेको छ। शुक्रबार रुसी सरकारले मस्कोस्थित बेलायती राजदूतलाई बेलायत सरकारलाई त्यहाँ रहेका रुसीहरूको संख्यासँग मेल खाने गरी रसियामा रहेका आफ्नो कूटनीतिक कर्मचारी कटौतीका लागि आदेश दिन बताएको थियो।

बेलायतको पहलो कारबाहीलाई जवाफ दिने क्रममा मस्कोले यसअघि नै २३ जना बेलायती कूटनीतिज्ञलाई देशनिकाला गरिसकेको छ। अघिल्लो दिन संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेर्रेसले हाल विश्व शीतयुद्धकालीन परिस्थितिमा आइपुगेको चेतावनी दिएका थिए।
बेलायतप्रति ऐक्यबद्धता प्रकट गर्दै विश्वका नौवटा राष्ट्रले अहिलेसम्म १ सय ४५ जना रुसी अधिकारीलाई निष्कासन गरिसकेका छन्।

Skip This