बेइजिङमा किमको भव्य स्वागत उत्तर कोरियासँगको मित्रता कहिल्यै नबदलिनेः सि

0
Shares

बेइजिङ, (एजेन्सी)
सन् २०११ मा सत्तामा पुगेपछि पहिलो विदेश भ्रमणमा निस्केका उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन र उनकी पत्नीलाई चीनको राजधानी बेइजिङमा भव्य स्वागत गरिएको छ। यस भ्रमणको दौरान किमले चीनका राष्ट्रपति सि जिन्पिङलगायत अन्य विशिष्ट व्यक्तिहरुसँग भेटवार्ता गरेको चिनियाँ सरकारी समाचार निकाय सिन्ह्वाले बुधबार जनाएको छ।

अघिल्लो दिन जापानी सञ्चार माध्यमले किमले कूटनीतिक ट्रेन चढेर कडा सुरक्षा प्रबन्धबीच चीन भ्रमण गरेको खबर सार्वजनिक गरेको थियो। तर चिनयाँ विदेश मन्त्रालयले किमको भ्रमणबारे औपचारिक पुष्टि गरेको थिएन।

सिले किमलाई चीनले सदैव उत्तर कोरियासँग मैत्रीपूर्ण सम्बन्ध कायम राख्ने नीति बनाएको र कुनै पनि परिस्थितिमा यो नीति परिवर्तन नहुने बताएका छन्। अत्यन्तै गोप्य र अप्रत्यासित किमको यस चारदिने भ्रमणसँगै चीनसँग चिसिएको उत्तर कोरियाको सम्बन्ध पुनः न्यानो भएको छ।

चीनले लामो समयदेखि आफ्नो गठबन्धनमा रहेका उत्तर कोरियामाथि त्यसको विवादास्पद क्षेप्यास्त्र तथा आणविक हातहतियार कार्यक्रमको कारण संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्ले लगाएको कडा आर्थिक नाकाबन्दीको समर्थन गरेपछि तिनीहरुबीचको सम्बन्ध तनावमा परेको थियो। किमको पहिलो ५ वर्षे शासनकालमा सिले किमसँगको भेटघाटलाई बेवास्ता गरेका थिए।

सो अवधिमा दुवै राष्ट्रका सञ्चार माध्यमले एकले अर्कालाई अपमान गर्ने प्रोपोगान्डा गरेका थिए। यस भेटघाटको दौरान किमको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भावी शिखरवार्तामा चीनको हितको पक्षलाई सुनिश्चित गरिएको छ।

साथै चीनले त्यो वार्ता असफल नै भएको स्थितिमा पनि उत्तर कोरियाको सुरक्षाको ग्यारेन्टी लिने नीति अपनाइने बताइएको छ। यता अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउसले किम र सिको भेटवार्ताले दबाब अभियानले काम गरिरहेको स्पष्ट भएको र चीनसँगको निकटतम सम्बन्धका कारण उत्तर कोरियाले नाकाबन्दीलाई बेवास्ता गर्न सक्ने तथा यस विषयलाई हुनसक्ने कुनै पनि अमेरिकी सैनिक कारबाही अझै महँगो हुनजाने जनाएको छ।

हवार्ड केन्नेडी स्कुलका कोरिया वर्किङ ग्रुपका निर्देशक जोहन पार्कले अहिले ट्रम्पको स्थिति निकै तनावपूर्ण हुनसक्ने अनुमान गरेका छन्। उत्तर कोरियाका ेआधिकारिक सञ्चार माध्यमले निशस्त्रीकरण वा किमको ट्रम्पसँग भेट्ने योजनाबारे अहिलेसम्म केही पनि उल्लेख गरेको छैन।

सञ्चार माध्यमले किमलाई चीनमा भव्य स्वागत गरिएको कुरामाथि मात्र जोड दिएको छ। तर चीनले भने ठूलै स्वरले किम ट्रम्पलगायत दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनसँग भेट्न इच्छुक रहेको र उत्तर कोरियाले आणविक हतियार कार्यक्रम त्याग्न सक्ने जनाएको छ।

गतसाता मात्र ट्रम्पले म्याकमास्टरलाई हटाएर राष्ट्रिय सुरक्षा सल्लाहकारमा संयुक्त राष्ट्र संघका लागि पूर्वअमेरिकी विशेषदूत जोहन बोल्टनलाई ल्याएका थिए। गत महिना मात्र बोल्टनले ‘उत्तर कोरियामाथि पहिलो आक्रमण गर्नुका लागि वैधानिक आधार’ शीर्षकमा लेख लेखेका थिए।

किमको अप्रिलको उत्तरार्धमा मुन जाय र मेमा अमेरिकी राष्ट्रपति ट्रम्पसँग भेट्ने कार्यक्रम रहेको छ। किमको यस बेइजिङ भ्रमणलाई ती प्रस्तावित वार्ताको तयारीका लागि महत्त्वपूर्ण पहलका रूपमा लिइएको छ। किमको चीन भ्रमणलाई हिजो चीन र उत्तर कोरिया दुवैले आधिकारिक पुष्टि गरेका थिए।

Skip This