निगमले पुराना ट्वीनअटर विमान हटाउने



दीपेन्द्र थापा, काठमाडौं

नेपाल वायुसेवा निगमले चार नयाँ ट्वीनअटर विमान खरिद गर्ने भएको छ। निगमसँग हाल भएका ट्वीनअटर विमान चार दशकभन्दा पुरानो भइसकेकाले नयाँ ट्वीनअटर खरिद गर्न प्रक्रिया अगाडि बढाएको हो।
‘हामीले ४०⁄४५ वर्षका ट्वीनअटर चलाइरहेका छौं, अब त्यसलाई विस्थापित गर्न चार वटा नयाँ ट्वीनअटर थप गर्ने योजना बनाएका छौं।’ निगमका प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारले बताउनुभयो।

निगमले पुराना ट्वीनअटरलाई लिलाम गरेर नयाँ ट्वीनअटर ल्याउने तयारी गरेको हो। दुई⁄तीन वर्षमा सबै पुराना ट्वीनअटर विस्थापित गरी निगमले नयाँ ट्वीनअटर किन्नको लागि क्यानडाली कम्पनी भ्याकिङसँग प्रक्रिया अगाडि बढाएको प्रबन्ध निर्देशक कंसाकारले जानकारी दिनुभयो।

नेपाल समाचारपत्रसँग कुरा गर्दै कंसाकारले भन्नुभयो–‘तत्काल चार ट्वीनअटर विमान निर्माणको अडर गर्ने योजनामा छौं। अहिले कम्पनीसँग निगमले प्रारम्भिक छलफल गरिसकेको छ। विमान किन्नका लागि निगमलाई चाहिले करिब ३ अर्ब रुपियाँ सहुलियतमा ब्याजदरमा रकम खोज्ने काम भइरहेको छ।’ विमान खरिद गरेर निगमले आन्तरिक उडानमा आफ्नो उपस्थिति बलियो बनाउने योजना रहेको उहाँले बताउनुभयो।

हाल निगमले आन्तरिक उडानमा कुलब जारको करिब ५ प्रतिशतमात्रै बजार समेट्न सकेको छ। नाफामुखीभन्दा सेवामुखी बन्नुपर्ने निगमको दायित्वको कारण निगमले आन्तरिक उडानबाट नाफा कमाउन नसकेको प्रबन्धक निर्देशक कंसाकारको भनाइ छ।

हाल निगमसँग चार दशक पुरानोसहित ३ ट्वीनअटर विमान रहेका छन्। दुई विमानले उडान भरिरहेका छन् भने एउटा ग्राउन्डेड अवस्थामा रहेको छ। निगमले १७ सिट क्षमतका दुई थान वाई–१२ ई विमानसमेत केही साताभित्रै थप गर्दैछ। चीनबाट ल्याइएको ६ वटा विमानमध्ये ४ वटा सञ्चालनमा रहेका छन्। सन् २०१४ मा चीनले एउटा एमए–६० र एउटा वाई–१२ ई विमान अनुदानमा दिएको थियो। जसमध्ये ५६ सिट क्षमताका एमए–६० दुई थान र वाई १२ ई दुई थान विमानले उडान भरिरहेका छन्। एमए –६० जहाजले तराई क्षेत्रमा र वाई १२ ई विमानले पहाडी क्षेत्रमा उडान भरिरहेको छ।

नेपाल एयरलाइसले हाल आन्तरिक उडान, अन्तर्राष्ट्रिय उडान र ग्राउन्ड ह्यान्डिलिङको काम गरिरहेको छ। नेपालमा विदेशी एयरलाइन्सको बजार ९० प्रतिशत रहँदा निगमको बजार १० प्रतिशतमा सीमित भएको छ।

अहिलेको बजारमा हामीले तीनवटा विमानमार्फत् अन्तर्राष्ट्रियतर्फका आठ गन्तव्यमा उडान भर्दै आएका छौं। तीनमा हङकङ, बैंकक, दिल्ली, दुबई, क्वालालम्पुर, दोहा, बैंग्लोर र मुम्बई रहेका छन्। निगमले २८ वर्षदेखि कुनै विमान खरिद गर्न नसक्दा विदेशी विमान कम्पनीले निरन्तर कमाई मात्र रहे तर निगम पछि परेको कंसाकारको भनाइ छ। निगमले पँुजी वृद्धिको लागि करिब २० अर्ब रुपियाँ सरकारसँग माग गरेको उहाँले जानकारी दिनुभयो।

आगामी जुलाईसम्ममा दुई वाइडवडी विमान आयात गर्ने निगमको योजना रहेको छ। यी विमान आएसँगै निगमले तीनवटा गन्तव्यमा उडान थप गर्नेछ। निगमले सिधा उडान साउदी अरेबियाको रियाद, जापानको ओसाका, दक्षिण कोरियाको सोलमा नयाँ गन्तव्य थप गर्ने छ। यसको लागि प्रवद्र्धनको काम तीनै ठाउँमा भइरहेको निगमले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्