डुंगा पल्टिँदा नब्बेजना डुबेको आशंका

0
Shares

ट्रिपोली, (एजेन्सी)
संयुक्त राष्ट्र संघको आप्रवास निकायले लिबियाको समुद्रीतटमा शुक्रबार एउटा डुंगा पल्टिँदा कम्तीमा ९० जना आप्रवासी डुबेको आशंका व्यक्त गरेको छ। उक्त दुर्घटनामा बच्न सफल एक यात्रुले ती डुब्नेहरू पाकिस्तानी नागरिक भएको बताएका छन्।

केही वर्षदेखि समुद्री अवैध ढंगले दक्षिणी युरोप प्रवेश गर्ने आप्रवासीहरूले लिबियालाई प्रमुख मार्गका रूपमा प्रयोग गर्दै आएका छन्। गत वर्ष युरोपेली संघ (ईयू)ले आप्रवासी र शरणार्थीहरूलाई इटालीतर्फ लाने डुंगाहरूलाई रोक्ने उद्देश्यले लिबियाली तट रक्षकहरूलाई मद्दत गर्ने एउटा विवादास्पद सम्झौतामा हस्ताक्षर गरेको थियो।

दातृ निकायहरू र संयुक्त राष्ट्र संघले युरोपेली सरकारहरूले अमानवीय कदम उठाएको आरोप लगाएका थिए। आप्रवासका लागि अन्तर्राष्ट्रिय संगठन (आईओएम)ले लिबियाली समुद्री किनारामा दशवटा लाश बगाइल्याएको जनाएको छ।

आईओएमका प्रवक्ताले निकै खतरा मोलेर इटाली जाने पाकिस्तानीको संख्या बढ्दै गएको जनाएका छन्। गत वर्षसम्म संख्याको हिसाबले युरोप पुग्ने आप्रवासीको सूचीमा पाकिस्तानी १३औं स्थानमा रहेका थिए भने अहिले तेस्रो स्थानमा रहेका छन्।

Skip This