छ महिनामा पाँच खर्ब व्यापारघाटा

0
Shares

नेपाल समाचारपत्र
काठमाडौं
चालू आर्थिक वर्षको पहिलो छ महिना अवधिमा वैदेशिक व्यापारमा मुलुकले व्यहोरेको घाटा करिब ५ खर्ब रुपियाँ पुगेको छ। भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक विवरणअनुसार व्यापार घाटा ४ खर्ब ९३ अर्ब ८८ करोड ८१ लाख रुपियाँ नाघेको हो।

यस अवधिमा मुलुकले कुल ५ खर्ब ७६ अर्ब २२ करोड २२ लाख रुपियाँ बराबरको कुल वैदेशिक व्यापार गर्दा ५ खर्ब ३५ अर्ब ५ करोड ५१ लाख रुपियाँ बराबर आयात र ४१ अर्ब १६ करोड ७० लाख रुपियाँ बराबर मात्र निर्यात गरेको छ।

आर्थिक वर्षको ६ महिना अवधिमा कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ९२ दशमलव ९ प्रतिशत र निर्यातको हिस्सा ७ दशमलव १ प्रतिशत रहेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्म आयात निर्यातको अनुपात तुलना गर्दा आयात बढे पनि निर्यात भने घटेको देखिन्छ। गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षको वैदेशिक व्यापारमा १ दशमलव ३९ प्रतिशतले निर्यात घटेको छ भने शून्य दशमलव ११ प्रतिशतले आयात बढेको छ।

वैदेशिक व्यापारमा आयातको हिस्सा बढे पनि निर्यात सोही अनुपातमा बढेको देखिँदैन। चालू आर्थिक वर्षको छ महिना अवधिलाई गत आर्थिक वर्षको सोही अवधिसम्म भएको आयात, निर्यातलाई तुलना गर्दा आयात १५ दशमलव ३८ प्रतिशत र निर्यात १३ दशमलव ७२ प्रतिशतले बढेको देखिन्छ।
निर्यातको तुलनामा आयात हुने वस्तुको परिणाम उच्च हुँदा नेपालको वैदेशिक व्यापारको अवस्थामा सन्तुलन कायम हुन सकेको छैन। हरेक वर्ष आयात निरन्तर बढे पनि निर्यात भने खुम्चिँदै गएको छ। मुलुकले यस अवधिमा गरेको वैदेशिक व्यापारमा छिमेकी मुलुक भारतसँग मात्र कुल व्यापारको ६५ दशमलव ७ प्रतिशत आयात र ५६ दशमलव ६ प्रतिशत निर्यात गरिरहेको छ। औसतमा भारतसँग मात्र नेपालले ६५ दशमलव शून्य २ प्रतिशत वैदेशिक व्यापार गरेको छ। सो अवधिमा मुलुकले भारतसँगमात्र बेहोरेको व्यापारघाटा ३ खर्व २८ अर्ब १५ करोड ५० लाख रुपियाँभन्दा बढी देखिन्छ। भारतसँग नेपालले गरेको व्यापारको हिस्सामा ३ खर्ब ५१ अर्ब ४१ करोड १९ लाख रुपियाँ बराबरको आयात र २३ अर्ब २ करोड ६६ लाख रुपियाँ बराबरको निर्यात गरेको छ।
त्यसैगरी नेपालको दोस्रो ठूलो वैदेशिक साझेदार मुलुक चीनसँग ६६ अर्ब ३० करोड ८३ लाख रुपियाँ बराबरको व्यापारघाटा बेहोरेको छ। छ महिना अवधिमा ६७ अर्ब ८८ करोड ४० लाख रुपियाँ बराबरको आयात गर्दा १ अर्ब ५७ करोड ५६ लाख ९३ हजार रुपियाँ बराबरको निर्यात गरेको छ।

यस अवधिमा वीरगन्ज सबैभन्दा ठूलो आयातकर्ता र विराटनगर सबैभन्दा ठूलो निर्यातकर्ता भन्सार कार्यालयमा रूपमा देखिएको छ। वीरगन्ज भन्सार कार्यालयबाट सबैभन्दा धेरै अर्थात् कुल आयातको ३३ दशमलव ७१ प्रतिशत आयात भएको छ।

त्यसैगरी कुल निर्यातमा वीरगन्ज भन्सार कार्यालयमार्फत कुल निर्यातको २९ दशमलव ८४ प्रतिशत शून्य १ प्रतिशत निर्यात भएको छ। जनकपुर, जलेश्वर, गौर र सिराहा भन्सार कार्यालयबाट भने निर्यात शून्य देखिएको छ।

Skip This