खाद्य संस्थानलाई प्रयोगशाला सञ्चालन गर्न समस्या

0
Shares

हेमन्त जोशी, काठमाडौं

खाद्य वस्तुको गुणस्तर तथा स्वच्छता परीक्षणका लागि नेपाल खाद्य संस्थानले आफ्नै प्रयोगशाला सञ्चालनमा ल्याउने तयारी गरे पनि केही नीतिगत समस्याका कारण सञ्चालनमा ल्याउन समस्या देखिएको छ।

अहिले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मात्र खाद्य वस्तुको गुणस्तर जाँच्ने अख्तियारी पाएको छ। संस्थानले प्रयोगशाला सञ्चालनमा ल्याउन तथा खाद्य वस्तुको परीक्षणका लागि अख्तियारीका लागि आपूर्ति मन्त्रालयसँग स्वीकृति मागेको भए पनि मन्त्रालयले स्वीकृति दिएको छैन। संस्थानलाई गुणस्तर चेकजाँचको कार्य जिम्मेवारी सुम्पिँदा खाद्य स्वच्छतामा सकारात्मक प्रभाव देखिने खाद्य संस्थानका सूचना अधिकारी शंकर सापकोटाको भनाइ छ।

अत्याधुनिक प्रविधि र उपकरणसहितको प्रयोगशाला हाल निर्माणको अन्तिम चरणमा रहेको छ। भारतीय राजदूतावासको करिब ५ करोड रुपियाँ सहयोगमा संस्थानको भद्रकालीस्थित केन्द्रीय कार्यालयमा उक्त प्रयोगशाला निर्माण भइरहेको छ। सापकोटाका अनुसार दूतावासले केही समय अघिमात्र प्रयोगशालाको स्वामित्व संस्थानलाई हस्तान्तरण गरेको हो।

बजारमा आउने खाद्य पदार्थमा मिसावटको अवस्था र गुणस्तर परीक्षणका लागि प्रयोगशालाले ठूलो सहयोग पुर्याउने सापकोटाको भनाइ छ। नेपाल समाचारपत्रसँग कुरा गर्नुहुँदै सापकोटाले भन्नुभयो– ‘प्रयोगशाला सञ्चालनका लागि हामीले मन्त्राललाई अनुमति मागेको लामो समय भइसकेको छ। तर, मन्त्रिपरिषद्को निर्णयले टुङ्गाउनुपर्ने निर्णय भएकाले ढिलो भइरहेको छ।’ प्रयोगशाला सञ्चालनमा ल्याउने अनुमति पाए पनि वस्तु अनुगमन गर्ने, गुणस्तर तथा मापदण्ड निर्धारण गर्ने अनुमति खाद्य संस्थानले पाएको छैन। यसका लागि संस्थानलाई नयाँ कार्य जिम्मेवारी तोकिनुपर्ने देखिन्छ।

प्रयोगशालामा एकै ठाउँबाट सबैखालका खाद्युवस्तुको परीक्षणका गर्न सकिने सापकोटाको भनाइ छ। खाद्य पदार्थमा हुने विभिन्न प्रकारका विषादी, रासायनिक पदार्थको अध्ययन अनुगमनका साथै खाद्यजन्य रोगब्याधी, मिसावट, दूषित खाद्य पदार्थको प्रभाव तथा विश्लेषण तथा खाद्य स्वच्छता र गुणस्तर सम्बन्धि अध्ययन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। यसअघि संस्थानसँग खाद्यान्न परीक्षणका लागि आफ्नै प्रयोगशाला नहुँदा गुणस्तर परीक्षणका लागि समय र मूल्य पनि बढी लाग्ने गरेको छ।

संस्थानले अहिले खाद्यान्नको परीक्षण गर्न खाद्यप्रविधि तथा गुण नियन्त्रण विभागसँग रहेको अन्तर्राष्ट्रिय मान्यताप्राप्त प्रयोगशालामा पठाउँदै आएको छ। आफ्नै प्रयोगशाला सञ्चालनमा आएपछि समयमै खाद्यान्न परीक्षण गर्न सकिने तथा उपभोक्तालाई दिईने सेवाको गुणस्तरमा समेत सकारात्मक प्रभाव पार्ने संस्थानले जनाएको छ।

भारतीय राजदूतावासको आर्थिक सहयोग तथा जिल्ला विकास समिति काठमाडौंको समन्वयमा निर्माण भएको प्रयोगशालामा अहिले उपकरण जडानलगायतका काम अन्तिम चरणमा रहेका छन्। प्रयोगशालाको निर्माणको क्रममा पनि ढिलाइ भएको थियो।

प्रयोगशालाको स्थापनासँगै त्यसको सञ्चालनका लागि संस्थानले चाँडै प्रक्रिया पूरा गरेर आवश्यक जनशक्तिका लागि पनि पहल गर्ने जनाएको छ। खाद्य संस्थानले आफूले बेच्दै आएको खाद्यान्न वस्तु मात्र नभई निजी क्षेत्रले बेच्दै आएका वस्तुलाई पनि परीक्षण गर्नेछ।

विश्वमा अस्वच्छ खाद्य वस्तुका कारण वर्षेनी ४ लाख मानिसको मृत्यु हुने गरेको छ। तर, नेपालमा भने हालसम्म पनि अस्वच्छ खाद्यान्नका कारण मानव स्वास्थ्यमा पर्न गएको असरबारे अध्ययन हुन सकेको छैन। प्रयोगशालाको स्थापनापछि सो विषयमा अध्ययनका लागि पनि सहज हुने खाद्य संस्थानले जनाएको छ।

खाद्यान्नको गुणस्तर तथा मापदण्ड परीक्षणका लागि हाल खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसँग मात्र प्रयोगशाला रहेको छ। विभागसँग रहेको प्रयोगशाला पनि सानो क्षमताको भएका कारण सबैखालका खाद्य वस्तुको परीक्षणका लागि कठिनाई हुने गरेको थियो। मुलुकभित्र खाद्यान्न परीक्षण गर्न आधुनिक प्रविधिसहितको प्रयोगशाला स्थापनापछि खाद्य सामग्रीको गुणस्तर संस्थानले पनि परीक्षण गर्नेछ।

Skip This