प्योङयाङले अमेरिकासँग वार्ता गर्न सक्नेः सोल



सोल, (एजेन्सी)
दक्षिण कोरियाले मंगलबार उत्तर कोरियाले आगामी वर्ष संयुक्त राज्य अमेरिकासँग वार्ता गर्न सक्ने भविष्यवाणी गरेको छ। सन् २०१८ लाई आशालाग्दो ढंगले हेरिए तापनि सोलले उत्तरको आणविक खतरा रोक्न विशेष सैनिक टोलीको व्यवस्था गरेको छ।

केही दिनअघि मात्र उत्तर कोरियाले आणविक हतियार कार्यक्रम विकासमा अटेर गरेकाले संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्ले सर्वसम्मतले नाकाबन्दी लगाउने घोषणा गरेको थियो। उत्तरले भने उक्त नाकाबन्दीलाई आर्थिक रोकावट र युद्धकै संज्ञा दिएको छ।

दक्षिण कोरियाको एकीकरण मन्त्रालयले आफूलाई आणविक शक्ति सम्पन्न राष्ट्रको दर्जा दिलाउनका लागि उत्तर कोरियाले अमेरिकासँग वार्ता गर्न सक्ने बताएको छ। यसैबीच दक्षिण कोरियाको रक्षामन्त्रालयले उत्तर कोरियाको आणविक र क्षेप्यास्त्र खतरा रोक्न र सामना गर्न आफूले नयाँ चारवटा इकाइ सञ्चालन गर्ने जनाएको छ।

उत्तर कोरियाले राष्ट्र संघीय नाकाबन्दीलाई बारम्बार बेवास्ता गर्दै आणविक र क्षेप्यास्त्र परीक्षण गर्दै आएको छ। यसपालिको नाकाबन्दीलाई उत्तर कोरियाको निकटतम सहयोगी तथा समर्थक राष्ट्र चीन र रुसले समेत समर्थन गरेका थिए। अमेरिकी कूटनीतिज्ञहरूले कोरियाली प्रायद्विपको समस्या कूटनीतिक ढंगले नै गर्न चाहेको स्पष्ट पारेका छन्।
तर राष्ट्रपति डोनाल्ड ट्रम्पले भने उत्तरसँग यस विषयको वार्ता काम नलाग्ने बताउँदै प्योङयाङले कुनै पनि वार्ता शुरू गर्नुअघि आफ्नो आणविक हातहतियार त्याग्ने प्रतिबद्धता जनाउनुपर्ने अडान लिँदै आएका छन्।

यसैगरी उत्तर कोरियाले अमेरिका आफ्नो आणविक फौज देखेर तर्सेको र खाली आफूमाथि नाकाबन्दी लगाउन मात्र आतुर रहेको बताएको उत्तरको आधिकारिक समाचार निकाय केसीएनएले जनाएको छ।

रसिया र चीन नयाँ नाकाबन्दीअनुसार उत्तरलाई पेट्रोलियम उत्पादन र कच्चा तेल आपूर्तिमा कटौती गर्ने पक्षमा रहेका छन्। तर सोमबार चीनको विदेश मन्त्रालयका महिला प्रवक्ता हुवा चुनयिङले भने अन्तर्राष्ट्रिय जगतलाई तनाव कम पार्न आह्वान गरेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्