गुप्तचर निकायमा लक्षित विस्फोट



काबुल, (एजेन्सी)
अफ्गानिस्तानको राजधानी काबुलस्थित गुप्तचर निकाय परिसरनजिक सोमबार भएको एक शक्तिशाली आत्मघाती बम विस्फोटमा कम्तीमा १० व्यक्तिको ज्यान गएको सरकारी अधिकारीहरूले बताएका छन्। हिँडेरै आएका आक्रमणकारीले अचानक विस्फोट गराउँदा अन्य ५ जना घाइते भएको बताइएको छ।

उक्त आक्रमण हुँदा सो निकायका कर्मचारीहरू अफिस आउँदै गरेका थिए। मारिनेमा विस्फोटको बेला सोही क्षेत्रबाट गइरहेको एउटा कारमा सवार महिलाहरू पनि रहेका छन्। सुन्नी मुस्लिम लडाकू समूह इस्लामिक स्टेटले यस आक्रमणको जिम्मेवारी लिएको छ।

काबुलस्थित सरकारी अस्पतालका निर्देशकले मृतकको संख्या बढ्न सक्ने बताएका छन्। पछिल्ला केही महिनायता अफ्गानिस्तानमा यस्ता आत्मघाती विस्फोटका घटना बढिरहेका छन्।

गत अक्टाबरमा सिया अल्पमत मुस्लिम समुदायको एक मस्जिदमा भएको बम आक्रमणमा कम्तीमा ३९ व्यक्ति मारिएका थिए। गत साता पनि इस्लामिक स्टेट लडाकूले गुप्तचर निकायको एउटा तालिम केन्द्रलाई आक्रमणको लक्ष्य बनाएको थियो।

प्रतिक्रिया दिनुहोस्