पेरुका पूर्वनेता फुजिमोरीलाई क्षमादान



लिमा, (एजेन्सी)
पेरुका राष्ट्रपति पेड्रो पाब्लो कुस्जिन्स्कीले पूर्वनेता अल्वर्टो फुजिमोरीलाई नाजुक स्वास्थ्य स्थितिका कारण क्षमादान दिई कैद मुक्त गरेका छन्। उनको यस कदमका विरुद्ध आक्रोशित जनसमूहले विरोध प्रदर्शन गरेको छ। मानव अधिकार उल्लंघन र भ्रष्टाचारको अभियोगमा ७९ वर्षीय फुजिमोरीले २५ वर्ष लामो काराबास सजाय भुक्तानी गर्दै आएका थिए।

स्वास्थ्यकै कारण उनलाई शनिबार कारगारबाट अस्पतालमा पुर्याइएको थियो। तर राष्ट्रपति कुस्जिन्स्कीले भने आफूविरुद्धको महाभियोगबाट बच्ने उद्देश्यले गत साता आफ्नो पार्टीसँग गरेको एक सम्झौताअनुरूप फुजिमोरीलाई क्षमा नदिइएको स्पष्ट पारेका छन्।

फुजिमोरीलाई क्षमादान दिइएको खबर सार्वजनिक हुनासाथ राजधानी लिमामा प्रहरी र प्रदर्शनकारीहरूबीच भीडन्त भएको थियो। यसैबीच राष्ट्रपतिको यस कदमको विरोध गर्दै उनको पार्टी पेरुभियन कांग्रेसका दुईजना सदस्य भिसेन्टे जेवाल्लोस र अल्वर्टो डी बिलान्डेले राजीनामा दिएका छन्।

अर्कातर्फ सन् १९९० देखि २००० सम्म पेरुको सत्ताको नेतृत्व गरेका फुजिमोरीलाई भर्ना गरिएको अस्पतालबाहिर उनका समर्थकहरूले खुसीयाली मनाएका थिए। केही पेरुभियनहरूले फुजिमोरीलाई माओवादी लडाकूहरूसँग भिडेका कारण प्रशंसा गर्ने गरेका छन् भने केहीले उनलाई भ्रष्ट तानाशाहका रूपमा लिने गरेका छन्।

फुजिमोरीका छोरा केन्जीले भिडियो ट्विट गर्दै आफ्ना पिता जेलमुक्त भएको खबर सार्वजनिक गर्दै पितालाई क्रिसमसको शुभकामना पनि दिएका थिए। राष्ट्रपति कुस्जिन्स्कीले एक विज्ञप्ति प्रकाशित गर्दै फुजिमोरीलगायत अन्य ७ जनालाई मानवताका आधारमा मुक्त गरिएको जानकारी दिएका छन्। अन्य ७ जनाको नाम भने खुलाइएको छैन।

चिकित्सकहरूले फुजिमोरीलाई उपचारै हुन नसक्ने रोग लागेकाले कारगारमा उनको ज्यानलाई थप खतरा रहेको जनाएका छन्। कम रक्तचाप र मुटुको घड्कन अनियमित हुन थालेपछि उनलाई कारगारबाट अस्पताल लगिएको डाक्टरहरूले बताएका छन्। केन्जि फुजिमोरीले लामो समयसम्म आफ्ना पिता अस्पतालमै बस्नुपर्ने जानकारी दिएका छन्।

सन् २००७ मा उनलाई पदीय अधिकार दुरूपयोग गरी भ्रष्टाचार गरेको आरोपमा ६ वर्ष लामो काराबास सजाय सुनाइएको थियो। त्यसको २ वर्षपछि आफ्नो कार्यकालमा मानव अधिकार उल्लंघन गरेको अभियोगमा उनलाई अर्को २५ वर्ष कारबास सजाय सुनाइएको थियो।

प्रतिक्रिया दिनुहोस्