क्रिसमसको पूर्व सन्ध्यामा सुरक्षामा कडाई



जकार्ता,  इन्डोनेसिया लगायत विश्वका कतिपय मुस्लिम देशहरुमा क्रिसमस र नयाँ वर्षको पूर्व सन्ध्यामा कडा सुरक्षा व्यवस्था अपनाइएको समाचार छ ।

विशेषगरी मुस्लिम देश तथा अन्य देशहरुमा पनि इस्लामिक अतिवादीहरुले क्रिसमसको समयमा गर्नसक्ने हिंसालाई मध्यनजरगरी सुरक्षा व्यवस्था कडा बनाइएको हो ।

यसैबीच इन्डोनेसियाको राजधानी जकार्तामा पनि यसै प्रयोजनका लागि सुरक्षा व्यवस्थालाई कडा पारिएको अधिकारीहरुले जनाएका छन् ।

विश्वको सबैभन्दा ठूलो मुस्लिम देश इन्डोनसियाका साथै अन्य देशहरुमा पनि सरकारले नयाँ वर्ष र क्रिसमसको समय पारेर थप सुरक्षाकर्मी खटाउने र सुरक्षालाई थप चुस्त बनाउने तयारी गरिएको जनाएको छ ।

क्रिसमसको पूर्वसन्ध्या पारेर जकार्तामा हिंसा मच्चाउने तयारी गरिरहेको आशङ्कामा केही व्यक्तिलाई पक्राउ पनि गरिएको बताइएको छ । सो सहरमा नागरिकको प्रवेशका क्रममा निकै निगरानी बढाइएको छ ।

एक हिंसात्मक इस्लामिक संगठन इस्लामिक स्टेट् (आइएस) ले यस्तो आक्रमणको योजना बनाएको भन्दै विभिन्न देशमा यस हप्ताका लागि थप र नयाँ सुरक्षाको प्रबन्ध मिलाइएका समाचारहरु प्राप्त भएका छन् ।

यसरी गरिएको खोजीका क्रममा पक्राउ परेका केही व्यक्ति इस्लामिक स्टेट्स (आइएस) सँग सम्बन्ध रहेको अनुुमान गरिएकोले पनि सुुरक्षामा ध्यान दिनुपरेको सुरक्षा अधिकारीहरुको भनाई छ ।

क्रिसमस पर्व मनाउनका लागि निर्माण गरिएका केन्द्रहरु, चर्च तथा नयाँ वर्षको पूर्व सन्ध्यामा समारोहहरु आयोजना गर्ने गरिएका सार्वजनिक स्थलहरु, होटल रेस्टुरेन्ट, सपिङ मलहरु आदिमा निगरानी गर्नेगरी सुरक्षा बढाइएको छ ।

जकार्ताका सुरक्षा अधिकारीहरुले भनेका छन्– हामीले सार्वजनिक स्थलमा निगरानी बढाएका छौँ, आजदेखि लिएर नयाँ वर्षको सुरुवातसम्म गरिने यस निगरानीले यहाँ हुनसक्ने असुरक्षाको अवस्थालाई कम गर्नेछ ।

अमेरिकामा गोलीहानी ११ घाइते

यसैबीच संयुक्त राज्य अमेरिकाबाट प्राप्त समाचारअनुसार अमेरिकाका विभिन्न स्थानमा आयोजना गरिएका क्रिस्मसको पूर्व सन्ध्याका कार्यक्रमलाई लक्षित गरेर गरिएका आक्रमणहरुमा ११ जना घाइते भएका छन् ।

क्रिस्मसको पूर्व सन्ध्यामा आयोजित क्रिस्मसका भोज एवम् सांस्कृतिक कार्यक्रमहरुमा बन्दुक हमला हुने गरेका छन् ।

क्रिस्मस सप्ताहका लागि यहाँ सार्वजनिक विदाहरु सुरु भएका छन् । जसअनुसार ती विदाका क्रममा नागरिकहरुमाथि आइएसबाट सुरक्षा खतरा हुन सक्ने अनुमान प्रहरीले गरेको बताइएको थियो ।

सन् २०१६ को यस्तै क्रिस्मस समारोहमा भएको बन्दुक हमलामा परी ११ जना नागरिकको ज्यान गएको थियो । साथै त्यसमा परी ५९ जना नराम्ररी घाइते भएका थिए ।

यस पटक भने सो समारोहलाई लक्ष्यगरी सुरक्षा व्यवस्था कडा बनाइएको अधिकारीहरुको भनाई छ । इस्लामिक स्टेट एवम् अन्य अतिवादीहरुका कारण हुनसक्ने सुरक्षा खतरालाई मध्यनजर गरेर यो व्यवस्था गरिएको हो ।
रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्