भ्रष्टाचारविरोधी युवराज विश्वकै सबैभन्दा महँगो घरका खरिदकर्ता



न्युयोर्क, (एजेन्सी)
आफ्नो देशका धनाढ्य तथा विशिष्ट व्यक्तिहरूलाई भ्रष्टाचारको आरोपमा बन्दी बनाएर भ्रष्टाचार नियन्त्रण अभियान थालेका साउदी युवराज विश्वकै सबैभन्दा महँगो भवन खरिदकर्ता भएको खुलासा भएको छ।

कुनै बेला किम कार्डिसियनले आफ्नो विवाहका लागि चयन गरिएका सम्भावित स्थान परेको, भर्सेलिजनजिक ५० हजार वर्ग फिटमा फैलिएको उक्त चेटेउ लुइस १४ दरबार सन् २०१५ मा २७ करोड ५० लाख अमेरिकी डलरमा बिक्री भएको थियो।

त्यतिबेला उक्त भवन खरिदकर्ताको पहिचान लुकाइएको थियो। तर न्युयोर्क टाइम्सले हालै मात्र आफ्नो अनुसन्धानले ती खरिदकर्ता युवराज मोहम्मद बिन सलमान भएको देखिएको समाचारमा उल्लेख गरेको छ।
खरिद प्रक्रियाका कागजातको अनुसन्धानबाट फोब्र्स अखबारले ‘विश्वकै सबैभन्दा महँगो घर’ भनिएको उक्त किल्लाको स्वामित्व सउदी राजगद्दीसँग रहेको देखिएको न्युयोर्क टाइम्सले जनाएको छ।

तेलका लागि धनी उक्त अधिराज्यका प्रबुद्धबर्गबाट हुने गरेको भ्रष्टाचार नियन्त्रणको साहसिक तथा महत्त्वपूर्ण कदममा नेतृत्वदायी भूमिका खेलेका ३२ वर्षीय युवराजलाई यो दाबीले अप्ठ्यारोमा पारको छ। भ्रष्टाचारको अभियोगमा पक्राउ परेका राजकुमार, सैख तथा व्यवसायी मुगलहरू युवराजप्रति बफादार सुरक्षा बलको निगरानीमा रियादस्थित रित्ज काल्र्टन होटलको भुर्इंमा रात काटिरहेका छन्।

चेटेउ लुइस १४ को स्वामित्वलाई फ्रान्स र लक्जेम्बर्गस्थित कैयौं कम्पनीको नाममा लुकाइएको न्युयोर्क टाइम्सले जनाएको छ । तर ती सबै युवराज मोहम्मदको निजी फाउन्डेसन प्रमुख रहेको साउदी फर्म ऐट इन्भेस्टमेन्ट कम्पनीको स्वामित्वमा रहेको अखबारले जनाएको छ। आफ्नो दाबी बर्मुडा कानुन फर्मको ह्याक भइ चुहावट भएका लाखौं दस्तावेज ‘पाराडाइज पेपर्स’को जानकारीमा आधारित रहेको उसले जनाएको छ।

उक्त फ्रान्सेली किल्लाको खरिद ५० करोड डलरको विलासी जहाज र ४५ करोड डलरमा लियोनार्दो दा भिन्चीको पेन्टिङलगायत युवराजबाट हालै भएका बहुमूल्य खरिदमध्येको एक हो। ऐट इन्भेस्टमेन्टले हालै मात्र पेरिसनजिकै कोन्डे सर भेस्ग्रेमा ले राउभरे नामक ६ सय २० एकड जमिन किनेको अखबारले जनाएको छ।

चेटेउ लुइस १४ केही वर्षअगाडि मात्र निर्माण गरिएको भए पनि यो १७औं शताब्दीको फ्रेन्च किल्लाको नमुनामा बनाइएको छ। यसमा इन्डोर र आउट डोर पौडी पोखरी, निजी सिनेमा, स्वास कोर्ट, दुईवटा बलरुम र एउटा नाइटक्लब रहेको छ।

यसमा १० वटा बेडरुम सुट, ५२ फिट उचाईमा गोलाकार कलात्मक सिलिंङसहित एउटा ठूलो रिसेप्सनकक्ष एउटा लाइब्रेरी, ३ हजार बोटल राख्न मिल्ने वाइन सेलर र एउटा मेडिटेसन रुम रहेको छ।

प्रतिक्रिया दिनुहोस्