अस्ट्रेलियामा बटुवामाथि गाडी आक्रमण १४ जना घाइते



मेलवर्न, (एजेन्सी)
अस्ट्रेलियाको मेलवर्न शहरमा सडकको किनारामा हिँडिरहेका पैदल यात्रुमाथि गाडी चढाएको घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

भिक्टिोरिया राज्यका प्रहरीले एउटा गाडी फ्लाइन्डर्स स्ट्रिटमा कयौं बटुवालाई ठक्कर दिएर अगाडि बढेको जानकारी दिए। शहरको केन्द्रस्थित व्यस्त चौवाटोमा भएको उक्त घटनामा १४ जना घाइते भएको र केहीको अवस्था गम्भीर रहेको प्रहरीले बताए।

प्रहरीले उक्त घटना जानीजानी गरेको तर अहिले नै यसलाई कट्टरपन्थीसँग जोड्नु हतार हुने बताए। उक्त घटनामा एक जना चालक र अर्को एक व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरी कमिस्नर रसेल बेरेटले भने– ‘यसको उद्देश्यका बारेमा केही ज्ञात हुन सकेको छैन।’

अधिकारीहरूले नागरिकलाई घटना भएको इलाकामा नजान सल्लाह दिएका छन्। स्थानीय समयअनुसार साँझ साढे ४ बजे एउटा सेतो रङको एसयुवी गाडीले सडकको किनारामा हिँडिरहेकालाई हिर्काएको थियो।

एक स्थानीय प्रत्यक्षदर्शी जिम स्टुपासले भने– ‘गाडी बटुवाहरूले खचाखच भरिएको चौबाटोमा पैदल यात्रीहरूलाई किचेर अगाडि कुदेको थियो। गाडी चालकले ब्रेक लगाउने वा मानिसहरूलाई बचाउन कुनै प्रयास गरेको देखिएन।’

प्रतिक्रिया दिनुहोस्