सुरक्षा परिषद्मा जेरुसेलमको दर्जाबारे मतदानमा, थप एक्लिएका अमेरिकाद्वारा विशेषाधिकार प्रयोग



वासिंगटन, (एजेन्सी)
राष्ट्रपति डोनाल्ड ट्रम्पको जेरुसेलमलाई इजरायलको राजधानीको मान्यता दिने निर्णयलाई लिएर सोमबार संयुक्त राज्य अमेरिकी अन्तर्राष्ट्रिय जगत्मा अझै एक्लिएको छ। राष्ट्रसंघीय सुरक्षा परिषद्ले जेरुसेलमलाई राजधानी मान्नका लागि अमेरिकाले गरेको यो निर्णयको फिर्ता लिइनुपर्ने जनाएको छ ।

सुरक्षा परिषद्का बाँकी १४ वटा सदस्य राष्ट्रले इजिप्टले तयार पारेको प्रस्तावनाको मस्यौदा बारे पक्षमा मतदान गर्दै अमेरिका वा ट्रम्पको नाम उल्लेख नगरिकन हालै जेरुसेलमको दर्जाबारे गरिएको निर्णयप्रति गहिरो दुःख प्रकट गरेका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेरुसेलमलाई इजरायलको राजधानीका रूपमा मान्यता दिने भनी गरेको निर्णयका विरुद्धमा विश्वका इस्लाम समुदायले व्यापक विरोध प्रदर्शन गरिरहेका बेला यस विषयमा राष्ट्रसंघमा यस सम्बन्धमा मतदान भएको हो।

तर संयुक्त राष्ट्रसंघका लागि अमेरिकी स्थायी प्रतिनिधि निकि ह्यालीले उक्त मतदानपछि भनेकी छिन्,– ‘हामीले यहाँ सुरक्षा परिषद्मा अपमान देख्यौं यसलाई कहिले बिर्सिनेछैन।’ अमेरिकाले छ वर्षभन्दा लामो समयपछि पहिलोपटक विशेषाधिकार प्रयोग गरेको हो।

अमेरिकाको सार्वभौमको प्रतिरक्षाका लागि यो विशेषाधिकार प्रयोग गरिएको हो। मध्यपूर्वी शान्ति प्रक्रियामा अमेरिकाको भूमिकाप्रति हामीलाई लज्जा महशुस भएको छैन बरु सुरक्षा परिषद्का अन्य सदस्यहरूलाई यस सम्बन्धमा लाज लाग्नुपर्ने हो।’ मध्यपूर्वका लागि संयुक्त राष्ट्रसंघका लागि संयुक्त राष्ट्रसंघीय विशेष प्रतिनिधि निकोली माल्देनोभोले यसबारे ब्रिफिङ गरेको थिए। गत ६ डिसेम्बरमा अमेरिकी ट्रम्प सरकारले जेरुसेलबारे उक्त निर्णय गरेको थियो। तर इजरायललाई मान्यता दिने भनी गरिएको यस निर्णयको भने विश्वका इस्लाम समुदायले एकै स्वरमा विरोध गरेका छन्। प्यालेस्टिनीहरूले स्वतन्त्र राज्य माग गर्दै लामो समयदेखि सङ्घर्षरत इस्लामिक हमास समूहद्वारा उक्त निर्णयका विरुद्धमा आन्दोलन गर्न आह्वान पनि भएको थियो। यो विरोधको क्रम अझै रोकिएको छैन।

यस निर्णय र अमेरिकाका विरुद्ध विश्वका विभिन्न देशमा प्रदर्शन जारी रहेको बताइएको छ। यसैक्रममा आइतबार मात्र इन्डोनेसियाको राजधानी जकार्तामा गरिएको अमेरिका विरुद्धको प्रदर्शनमा करिब ८० हजार मुस्लिम जनताको सहभागिता रहेको समाचारमा जनाइएको छ।
यसैबीच इजरायली प्रधानमन्त्री बेन्जमिन नेतान्याहुले भने अमेरिकी राष्ट्रपति ट्रम्पको प्रशंसा गर्दै उनले जेरुसलेमको इतिहासको सम्मान गरेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्