ट्रान्सपरेन्सी इन्टरनेसनलको प्रतिवेदन, सोमालिया विश्वकै भ्रष्ट र डेनमार्क सबैभन्दा कम भ्रष्टाचार हुने देश नेपाल २९औं स्थानमा



Денежные купюры: доллары США.

बर्लिन, (एजेन्सी)
ट्रान्सपरेन्सी इन्टरनेसनलले जारी गरेको पछिल्लो वार्षिक प्रतिवेदनले विश्वको सबैभन्दा भ्रष्टचार हुने मुलुकमा सोमालिया, साउथ सुडान, उत्तर कोरिया र सिरियालाई राखेको छ। सोमालिया विगत १० वर्षदेखि करप्सन पर्सेप्सन इन्डेक्स २०१६ मा १० अंकसहित विश्वको सबैभन्दा भ्रष्ट मुलुकको स्थानमा पर्दै आएको छ।

व्यवसाय तथा सरकारी स्रोतको मिश्रित आँकडाका आधारमा यस संस्थाले वार्षिक आफ्नो प्रतिवेदन सार्वजनिक गर्दै आइरहेको छ। भ्रष्टाचार मानक सूचीमा नेपालको स्थान २९औं स्थानमा रहेको छ। यस सूचीमा देशहरुलाई ० देखि सय स्थानमा सूचीकृत गरिएको छ।

अति भ्रष्ट मुलुकको तलबाट दोस्रो स्थानमा परेको तुलनात्मक रुपमा नयाँ मुलुक साउथ सुडान ६ वर्षअगाडि मात्रै सुडानबाट स्वतन्त्र मुलुक बनेको थियो। उसले ११ अंक हासिल गरेको छ। तेस्रो सबैभन्दा भ्रष्ट मुलुकमा उत्तर कोरिया र त्यसलाई पछइउँदै सिरिया चौथो स्थानमा परेको छ। युद्धग्रस्त सिरियाबाट हालै मात्र ठूलो संख्यामा शरणार्थी बाहिरिएका छन्।

यसअघिका वर्षको भन्दा सुधार गरिरहेको भए पनि धेरैजसो देशको अंकमा गिरावट आइरहेको जर्मन समूहले चेतावनी दिएको छ। उक्त समूहले ती देशहरुमा भ्रष्टाचार, समाजमा शक्तिको असमान वितरण र सम्पत्तिको असमान वितरणबीच अनैतिक समूहको निर्माण भइरहेकामा प्रतिवेदनमा सचेत गराएको छ।
सामाजिक असमानताले बढाएको निरन्तर भ्रष्टाचारको चक्रलाई लिएर विश्वव्यापी नै नागरिकहरुमा चरम असन्तोष फैलिएको र तिनीहरुबाटै लोकप्रिय राजनीतिज्ञहरु उदय भइरहेको ट्रान्सपरेन्सी इन्टरनेसनलले जनाएको छ। तर ती लोकप्रिय नेताहरु पनि भ्रष्टाचारको मामिलामा खराब हुने गरेका छन्।

लोकप्रियवादी वा अधिनायकवादी नेताहरु भएका देशमा प्रजातन्त्र खस्कँदो अवस्थामा देखिएको र त्यो नागरिक समाजमाथि दमनकारी, सीमित प्रेस स्वतन्त्रता र न्यायिक प्रणालीलाई कमजोर बनाउने प्रयासमा लागेको देखिएको ट्रान्सपरेन्सी इन्टरनेसनलका अध्यक्ष जोस युगाजले जारी गरेको एक विज्ञप्तिमा उल्लेख गरेको छ।

व्यवस्थित पुँजीवादको सत्तामा ती नेताहरुले झन् खराब भ्रष्ट प्रणाली स्थापना गरिरहेको युगाजले थपे। अधिनायकवादी नेताहरुको उदय भइरहेका हंगेरी र टर्कीको भ्रष्टाचारको अंक खस्केको छ भने सन् २०१५मा लोकप्रियवादी सरकारलाई सत्ताच्युत गरेको अर्जेन्टिनाले सुधारको संकेत देखाएको ट्रान्सपरेन्सी इन्टरनेसनलले जनाएको छ।

उक्त प्रतिवेदनले पानामा पेपर्सलाई इंगित गर्दै व्यवसायी, धनाढइ् तथा राजनीतिज्ञहरुले समेत कसरी करको दुरुपयोग गरिरहेका छन् भन्ने खुलासा भएको उल्लेख गरेको छ।

सबैभन्दा कम भ्रष्टाचार हुने देशहरुमा पहिलो स्थानमा डेनमार्क र त्यसलाई पछइउँदै १०औं स्थानसम्म न्युजिल्यान्ड, फिनल्यान्ड, स्विडेन, स्विजरल्यान्ड, नर्वे, सिंगापुर, क्यानाडा, जर्मनी परेका छन्।
त्यसैगरी सार्क मुलुकमा भारत र श्रीलंका ४०औं स्थान रहेका छन् भने अफगानिस्तान सबैभन्दा भ्रष्ट मुलकका रुपमा ८औं स्थानमा रहेको छ। भुटान सबैभन्दा कम भ्रष्ट मुलुकका रुपमा ६८औं स्थानमा पर्न सफल भएको छ। पाकिस्तान र बंगलादेश २८औं स्थानमा परेका छन्।

प्रतिक्रिया दिनुहोस्