चेंगिज खानको तस्वीरमा अपमान



बेइजिङ, (एजेन्सी)
एकजना चिनियाँ पुरुषलाई मंगोल सम्राट चेंगिज खानको तस्वीरमा कुल्चेर जातीय घृणा फैलाएको अभियोगमा शुक्रबार चीनको एक अदालतले एक वर्ष लामो कारवास सजाय सुनाएको छ। चीनको इन्नर मंगोलिया क्षेत्रको एक अदालतले लुओ नामक ती व्यक्तिले गत मे महिनामा तस्वीरमा कुल्चिँदै गरेको दृश्यको फिल्म पनि खिचेको जनाएको छ।

ती १९ वर्षीय किशोरले सो क्लिप अनलाइनमार्फत प्रसारण गरेपछि जन आक्रोश फैलिएको थियो। मंगोल जनजातिमाझ चेंगिज खान निकै सम्मानित व्यक्तित्व हुन्। चिनियाँ सरकारी समाचार निकाय सिन्ह्वाले इन्नर मंगोलियाको स्वायत्त क्षेत्रस्थित ओर्डोस शहरको अदालतले उनलाई जातीय घृणा र भेदभाव फैलाएको अभियोगमा दोषी ठहराएको जनाएको छ।

लुओले आफूले बनाएको फिल्म लोकप्रिय भिडियो प्लेटफर्म कुआइसोउ र विच्याट मेसेजिङ एपमार्फत आफ्ना थुप्रै साथीहरुलाई सेयर गरेको बताइएको छ। उक्त घटनाको विरुद्ध थुप्रै व्यक्तिले प्रहरीमा उजुरी गरेका थिए। स्थानीय प्रशासनले सो फिल्म अनलाइबाट हटाइसकेको छ।

अदालतमा सुनुवाइको क्रममा लुओले आफ्नो कारण जनभावनामा चोट पुगेको भन्दै क्षमायाचना गरेका थिए। नौ वर्षको उमेरमा टुहुरो बनेका चेंगिज खान सन् १२०६ मा निर्विवाद मंगोल नेता बनेका थिए। १३औं शताब्दीमा उनी उत्तर–पूर्वी एसियामा विशाल साम्राज्य खडा गर्न लागिपरेका थिए।

प्रतिक्रिया दिनुहोस्