एर्दोगानले जेरुसेलमबारे बोले



इस्तानबुल, (एजेन्सी)
तुर्केली राष्ट्रपति रिसेप तायिप एर्दोगानले मुश्लिम राष्ट्रहरूका नेताहरूलाई जेरुसेलमलाई प्यालेस्टाइनी राज्यको अधीनस्थ राजधानीको मान्यता दिन आग्रह गरेका छन्।

अर्गनाइजेसन फर इस्लामिक कोअपरेसनको शिखर सम्मेलनलाई सम्बोधन गर्ने क्रममा जेरुसेलमलाई इजरायलको राजधानीको मान्यता दिने अमेरिकी निर्णय अमान्य रहेको बताएका छन्।

साथै एर्दोगानले पुनः इजरायललाई ‘आतंकको राज्य’को संज्ञा दिएका छन्। यसैबीच प्यालेस्टाइनी नेता महमुद अब्बासले मध्युपूर्वको शान्ति प्रक्रियामा भूमिका निभाएर अमेरिकाले आफूले आफैले अयोग्य सावित गरेको प्रतिक्रिया दिएका छन्। उक्त सम्मेलनमा अब्बासले भनेका छन्– ‘अब हामीलाई शान्ति प्रक्रियामा अमेरिकाको कुनै पनि भूमिका स्विकार्य छैन।’

अमेरिकाले इजरायलको समर्थनमा पूर्ण पक्षपाती व्यवहार प्रदर्शन गरिसकेको छ। जेरुसेलम इजरायल र प्यालेस्टाइन विवादको प्रमुख विषयवस्तु रहँदै आएको छ। विशेष गरी पूर्वी जेरुसेलम यहुदी, मुश्लिम र इसाईहरूको प्रमुख पवित्र धार्मिक स्थलको रुपमा रहेको छ। विगतमा जोर्डनको नियन्त्रणमा रहको जेरुसेलम इजरायलले सन् १९६७ मा मध्यपूर्व युद्धको दौरान कब्जा गरेको थियो।

प्रतिक्रिया दिनुहोस्