बोको हरामविरुद्धका कमान्डर बर्खास्त



अबुजा, (एजेन्सी)
नाइजेरियाको सेनाले बिहीबार कट्टरपन्थी इस्लामिक लडाकू समूह बोको हरामविरुद्धको लडाइँको नेतृत्व गर्दै आएका कमान्डर मेजर जनरल अत्ताहिरू इब्राहिमलाई कुनै औपचारिक कारणबिना बर्खास्त गरेको छ। गत महिना उत्तर– पूर्वी नाइजेरियाको एउटा मस्जिदमा कम्तीमा ५० व्यक्तिको ज्यान जाने गरी आक्रमण गरेको बोको हराम समूहले यसअघि पनि थुप्रै डरालाग्दा हमला गर्ने गरेको थियो।

नाइजेरियाको सेना प्रमुख जनरल टुकुर बुराताइले इब्राहिमलाई गत जुलाईमा ४० दिनभित्र बोको हरामका नाइके अवुवाकर सेकाउलाई जिउँदै वा मुर्दा आफूसमक्ष पेस गर्न समय सीमा दिएका थिए। सन् २००९ मा नाइजेरियाको उत्तर–पूर्वी भागमा बोको हरामले आफ्नो हिंसात्मक आन्दोलन शुरू गरेयता कम्तीमा २ हजार व्यक्तिको ज्यान जानुका साथै अन्य हजारौं व्यक्ति अपहरित भइसकेका छन्। बोको हराम लडाकूहरूलाई परास्त गर्ने चुनावी मूल नारा लिएका राष्ट्रपति मुहम्मादु बुहारीले सन् २०१५ को मे महिनामा कार्यभार सम्हालेका थिए।

त्यसको ७ महिनापछि बुहारीले सरकारी फौजले बोको हरामको कब्जा गरेका अधिकांश भूभाग फिर्ता लिन सफल हुनासाथ बोको हरामलाई प्राविधिकरूपमा पराजित गरिसकेको घोषणा गरेका थिए।
तर लडाकूहरूले उत्तर–पूर्वी क्षेत्रमा निरन्तररूपमा सरकारी पक्षमाथि बम र गोली आक्रमण गर्दै आएका थिए। गत जुलाईमा लडाकूद्वारा अपहरण गरिएको सवारीसाधनमा सवार व्यक्तिहरूलाई छुटाउन चालिएको विशेष सैनिक कारबाहीमा ४० जनाभन्दा बढी व्यक्ति मारिएका थिए।

प्रतिक्रिया दिनुहोस्