सम्राट् अकिहितोको गद्दीत्याग तिथि घोषित



टोक्यो, (एजेन्सी)
जापानका वृद्ध सम्राट् अकिहितोले आगामी सन् २०१९ को अप्रिलमा आफ्नो पद त्याग गर्ने भएका छन्। जापान सरकार र शाही समितिबीच भएको छलफललगत्तै प्रधानमन्त्री सिन्जो आवेले अकिहितोले राजगद्दी त्याग्ने तिथिको घोषणा गरेका हुन्।

८३ वर्षीय सम्राट्ले गत वर्ष उमेर र स्वास्थको कारण आफूलाई कर्तव्य निर्वाह गर्न कठिन भएको बताएका थिए। जापानको शाही इतिहासको दुई शताब्दीमा भएको यस पहिलो राजगद्दी त्याग्ने घटना वादविवादको विषय भएके थियो।

प्रधानमन्त्री आवे, विधायकहरू र जापानको शाही परिवारका सदस्यहरू सम्मिलित शाही घरेलु मामिला परिषद्ले शुक्रवार बैठक बसी राजगद्दी त्यागको तिथि घोषणा गरेको थियो। आवेले पछि पत्रकारहरूलाई भेटघाटको क्रममा अकिहितोले सन् २०१९ को ३० अप्रिलमा गद्दी त्याग्ने घोषणा गरेका थिए।

उनको राजगद्दी त्यागले हेइसेइ युगको अन्त्य भएको जनाउनेछ। अकिहितोका पुत्र नारुहितोले १ मेमा राजगद्दी आरोहण गरेपछि नयाँ शाही युग शुरू हुनेछ। जापानी सम्राट्को राजनीतिक शक्ति हुँदैन। तर सिन्तो धर्मसँग आबद्ध उनले धार्मिक समारोहहरूमा सहभागी हुने र विदेशी विशिष्ट व्यक्तित्वहरूलाई स्वागत गर्ने जस्ता काम गर्ने गर्दछन्।

जापानको सरकारी समाचार निकाय क्योदोले गरेको एक सर्भेक्षणअनुसार राजगद्दी त्याग्ने प्रक्रियालाई कानुनी बनाउनुपर्ने भन्दै ८५ प्रतिशत सहभागीले अकिहितोको गद्दीत्याग निर्णयको स्वागत गरेका छन्।

प्रतिक्रिया दिनुहोस्