अमेरिकाले उत्तर कोरियालाई उक्साउँदैः लाभ्रोभ



मस्को, (एजेन्सी)
रुसी विदेशमन्त्री सर्गेइ लाभ्रोभले बिहीबार अमेरिकाले उत्तर कोरियालाई आफ्नो आणविक क्षेप्यास्त्र कार्यक्रम अघि बढाउन उक्साइरहेको बताएका छन्। उनले उत्तर कोरियाले गरेको पछिल्लो क्षेप्यास्त्र परीक्षणको उत्तरसंग सम्बन्ध बिगार्नका लागि संयुक्त राष्ट्र संघका लागि अमेरिकी दूतले गरेको औपचारिक आह्वान अस्वीकार गरेका छन्।

रसियाले उत्तर कोरियामाथिको कुनै पनि थप नाकाबन्दीले केही काम नगर्ने बरु समस्या समाधानका लागि वार्ता अघि बढाउनुपर्ने सुझाव दिएको छ। यसैबीच अमेरिकाले यदि युद्ध शुरू भएको खण्डमा उत्तर कोरिया नराम्ररी ध्वस्त हुने चेतावनी दिएको छ।

२ महिनापछि उत्तर कोरियाले बुधबार अर्को शक्तिशाली क्षेप्यास्त्र प्रक्षेपण गरेको थियो। उत्तरले यस परीक्षणसंगै आफ्नो अन्तरमहादेसीय क्षेप्यास्त्र अमेरिकाको जुनसुकै भागमा पुग्न सक्ने दाबी गरेको छ। तर अन्तर्राष्ट्रिय हातहतियार विशेषज्ञहरुले उत्तरको यस दाबीमाथि शंका गरिरहेका छन्।

बेलारुसको राजधानी मिन्स्क भ्रमण गर्ने क्रममा लाभ्रोभले कतै अमेरिका उत्तर कोरियालाई ध्वस्त नै पार्ने कार्यमा सक्रिय रहेको त होइन भनी प्रश्न गरेका छन्। साथै उनले अमेरिकाले रुसलाई आफ्नो उद्देश्यबारे बताउनुपर्ने पनि विचार व्यक्त गरेका छन्। सुरक्षा परिषद्मा विशेषाधिकार प्रयोग गर्न सक्ने रसिया र चीन दुवै उत्तर कोरियाको पक्षमा रहँदै आएको देखिन्छ।

प्रतिक्रिया दिनुहोस्