होन्डुरसमा राजनीतिक अन्योल



टेगुसिगाल्पा, (एजेन्सी)
अमेरिका समर्थित होन्डुरसका राष्ट्रपति र उनका प्रमुख विपक्षी राजनीतिक समूह दुवैले मध्य अमेरिकी राष्ट्र होन्डुरसको राष्ट्रपतीय चुनाव जितेको दाबी गरेपछि त्यहाँ अन्योल र तनावपूर्ण वातावरणको सृजना भएको छ। तर चुनावको मतपत्र गणना कार्य सम्पन्न भइसकेको आठ घण्टा बितिसक्दा पनि निर्वाचन आयोगले औपचारिक चुनावी परिणाम घोषणा गर्न सकेको छैन।

आइतबार सम्पन्न उक्त चुनावमा मध्यमार्गी दक्षिणपन्थी अमेरिका समर्थित हर्नान्डेजले ४३ दशमलव ९३ प्रतिशत मत प्राप्त गरी विजय हासिल गरेको नेटवर्क टेले भिसेन्ट्रोले जनाएको थियो। सर्वेक्षण मत परिणाम सार्वजनिक भएलगत्तै नेटवर्कले हर्नान्डेजलाई विजयी भएको र सत्तारूढ गठबन्धन विरोधी तथा वाम–दक्षिणपन्थी गठबन्धनको नेतृत्व गर्ने साल्भाडोर नास्राल्लाले ३४ दशमलव ७० प्रतिशत मत प्राप्त गरेको जनाएको थियो।

मतगणना सकेको घण्टौं बित्दा पनि औपचारिक चुनाव परिणाम घोषित नभएपछि चर्चित टेलिभिजन प्रस्तोतासमेत रहेका नास्राल्लाले सोमबार सबेरै आफूले हर्नान्डेजको भन्दा ४ दशमलव ८ प्रतिशत बढी मतसहित सफलता पाएको घोषणा गरेका थिए। आठ वर्षअघि हर्नान्डेजको समर्थन रहेको विद्रोहमा अपदस्थ हुन पुगेका पूर्वराष्ट्रपति म्यानुयल जिलायाले पनि नास्राल्लालाई साथ दिइरहेका छन्। ६४ वर्षीय नास्राल्लाले आफ्ना समर्थकलाई सम्बोधन गर्ने क्रममा आफू होन्डुरसको नयाँ राष्ट्रपति भएको तथा सडकमा ओर्लेर आफ्नो समर्थन गर्न आह्वान गरेका छन्।

प्रतिक्रिया दिनुहोस्