एपोलो १७ अभियानको तस्वीरले अमेरिकी चन्द्रमा यात्रा विवादमा, ‘बिना स्पेस सुट अन्तरिक्ष यात्री देखियो’



लस एन्जलस, (एजेन्सी)
अमेरिकाले चन्द्रमामा मानव अवतरण गराएको ऐतिहासिक महत्त्वको घटनालाई लिएर समय समयमा विवादहरु आइरहने गरेका छन्। मानव इतिहासकै सबैभन्दा महत्त्व राख्ने उक्त घटनालाई लिएर अविश्वास गर्नेहरुले एक प्रकारले अभियान नै चलाइरहेका छन्।

हालैमात्र नासाले सार्वजनिक गरेका एपोलो १७ चन्द्र अभियानका केही दस्तावेजको एक तस्वीरले उक्त विवादलाई पुनः एक पटक उचालेको छ। अमेरिकाले चन्द्रमामा मानव अवतरण गराएको झुठो हो भन्दै आइरहेकाका लागि मात्र नभई यसमा चासो लिइरहेका आम नागरिकका लागि पनि उक्त तस्वीरले झस्काएको छ।

अन्तरिक्ष एजेन्सी नासाको एपोलो १७ अभियानका क्रममा चन्द्रमामा बिना स्पेस सुटमा घुमिरहेका एक व्यक्तिको प्रतिबिम्ब देखिएको अन्तरिक्ष यात्रीको तस्वीर भाइरल भइरहेको छ। उक्त तस्वीरका आधारमा उक्त अभियान नै फर्जी भएको अनुमान लगाइरहेका छन्। अमेरिकाले सधैं दाबी गर्दै आइरहेको छ, चन्द्रमामा सबैभन्दा पहिला मानव उसले पठाएको हो। ४८ वर्षअगाडि अमेरिकी अन्तरिक्षयात्री निल आर्मस्ट्रङ चन्द्रमामा पाइला टेक्ने पहिलो मानव मानिन्छ। तर आलोचकहरुले नासाको उक्त अभियानलाई पनि फर्जी भएको आरोप लगाइरहेका छन्।
उनीहरुले शीतयुद्धको चरम समयमा अमेरिका अन्तरिक्षको दौडमा रुसभन्दा कुनै पनि हालतमा अगाडि हुन चाहेको थियो र आफ्नो जितका लागि उसले चन्द्रमामा पहिलो मानव पठाएको दाबी गरेको बताउँछन्। अहिले हालसालै सार्वजनिक भएका केही नयाँ तस्वीरलाई हेरेपछि चन्द्रमामा पठाइएको नासाको छैठौं तथा अन्तिम अपोलो १७ मिसन पनि फर्जी भएको उनीहरुले दाबी गरेका छन्। आधिकारिक प्रतिवेदनमा युजिन सर्ननको नेतृत्वमा नासाका ३ अन्तरिक्ष यात्रीले चन्द्रमाको सतहलाई छोएका थिए, तर यो अभियानको एक फोटोको क्लोज अफ सटले यो हप्ता नयाँ बहस छेडेको छ। सञ्चारमाध्यममा यो सम्पूर्ण अभियान नै हलिउड मुभीको सेटमा फिल्मांकन गरिएको भन्ने आरोपको प्रतिक्रिया आइरहेका छन्।

एक जना युट्युब युजरले मिसनको भिडियोलाई जुम गरी हेर्दा एक अन्तरिक्ष यात्रीको हेलमेट अगाडिको भागमा लगाइएको सिसामा अर्को अन्तरिक्ष यात्री देखिएको तर ऊ साधारण वेस्टकोट लगाई चन्द्रमाको सतहमा उभिएको देखिएको दाबी गरेका छन्।

ती युजरले हेलमेटको सिसामा देखिएका व्यक्तिको कपाल सन् १९७० को दशकमा केटाहरुले राख्ने जस्तै देखिएको पनि दाबी गरेका छन्। ती अन्तरिक्ष यात्री स्पेस सुटमा नभएर वेस्टकोटमा देखिएका छन्। यदि उक्त चन्द्र अभियान साँचो हो भने ती व्यक्तिको स्पेस सुट कहाँ गयो त? भन्ने प्रश्न उनले गरेका छन्।

युजरको उक्त प्रश्नको फरक फरक जवाफ आइरहेका छन्। यद्यपि शीतयुद्धमा अन्तरिक्ष होडमा पछि परिरहेका अमेरिकालाई रुसमाथि हावी हुने दबाब रहेको र त्यसका लागि उसले हलिउडको स्टुडियोमा फिल्मांकन गरी चन्द्रमामा मानव पठाएको दाबी गरेको हो भन्नेहरुका लागि यो बलियो प्रमाण बनेको छ।

प्रतिक्रिया दिनुहोस्