प्रदर्शनकारीलाई धर्नाबाट हटाउन सेनालाई गुहार



इस्लामावाद, (एजेन्सी)
पाकिस्तान सरकारले शनिबार राजधानीलाई नै अवरुद्ध पारी धर्ना दिइरहेका कट्टरपन्थी इस्लामिक प्रदर्शनकारीलाई धर्नाबाट हटाउन सेनालाई गुहारेको छ। यसअघि प्रहरी र ती प्रदर्शनकारीबीच भिडन्त भएको थियो। पाकिस्तानका अन्य शहरहरूमा पनि धार्मिक प्रदर्शन फैलिएको छ।

विभिन्न अस्पतालका सूत्रका अनुसार प्रदर्शनकारी र प्रहरीबीचको भिडन्तमा १ सयजनाभन्दा बढी प्रदर्शनकारी र कम्तिमा ६५ जना सुरक्षाकर्मी घाइते भएका छन्। तर प्रदर्शनकारीहरूले आफ्ना चारजना साथी मारिएको दाबी गरेका छन्। प्रहरीले उक्त दाबी गलत भएको बताएको छ।

टेलिभिजन फुटेजमा एउटा प्रहरी सवारी साधनमा आगलागी भएको, सडकका विभिन्न स्थानमा आगो बालिएको तथा थुप्रो संख्यामा दंगा प्रहरी परिचालित भइरहेको देखिन्छ। अन्य शहरमा पनि लाठी बोकेका प्रदर्शनकारीहरूले सडकमा जथाभावी सवारी साधन तोडफोड गरी हिँडन थालेको बताइएको छ।

इस्लामावाद नजिकको फैजावादस्थित शिविरमा थप प्रदर्शनकारी जम्मा हुन थालेका छन्। निजी टेलिभिजन स्टेसनलाई कार्यक्रम प्रशारणमा रोक लगाइएको छ। सरकारी टेलिभिजनले मात्र समाचार प्रशारण गरिरहेको छ। केही क्षेत्रमा ट्विटर र फेसबुक पनि बन्द गरिएको छ।

नयाँ कट्टरपन्थी इस्लामिक राजनीतिक पार्टी तेहरिक ए लाविकका करिब एक हजारजना कार्यकर्ताले इस्लामको अपहेलना गरेको आरेप लगाइएका कानुन मन्त्रीमाथि तत्काल कारबाहीको माग गर्दै २ सातासम्म राजधानी इस्लामावादको मुख्य मार्ग अवरुद्ध गरेका थिए। सो पार्टीका प्रवक्ता इजाज असराफीले रोयटर्सलाई टेलिफोन गरी आफूहरूले अन्तिम क्षणसम्म पनि लडिरहने जानकारी गराएका छन्।

प्रतिक्रिया दिनुहोस्