हेलिकोप्टर दुर्घटनामा राजकुमारको मृत्यु



रियाद, (एजेन्सी)
यमनसँग जोडिएको साउदी अरेबियाको सीमानमा भएको एउटा हेलिकोप्टर दुर्घटनामा एक वरिष्ठ साउदी राजकुमार र अन्य ७ जना सरकारी अधिकारीको ज्यान गएको सरकारी सञ्चारमाध्यमले सोमबार जनाएका छन्।

एउटा निरीक्षण भ्रमण कार्यक्रमबाट फर्किरहेका राजकुमार तथा आसिर प्रान्तका उपगवर्नर मन्सुर विन मुकरिन चढेको उक्त हेलिकोप्टर आइतबार राति अवानजिक खसेको गृह मन्त्रालयले जनाएको छ।

दुर्घटनाको कारण थाहा हुनसकेको छैन। यस घटनाको केही समयअघि मात्र साउदी नरेश सलमानले थुप्रै साउदी राजकुमार र कार्यरत तथा पूर्वमन्त्रीलाई भ्रष्टाचारको अभियोगमा हिरासतमा लिन आदेश दिएका थिए। ३२ वर्षीय युवराज मोहम्मद विन सलमानको नेतृत्वमा रहेको भ्रष्टाचारविरुद्धको एक निकायले ११ जना राजकुमार, ४ जना मन्त्री र अन्य दर्जनौं पूर्वमन्त्रीलाई हिरासतमा लिन आदेश दिएको हो। मारिने राजकुमार मन्सुर पूर्वगुप्तचर प्रमुख राजकुमार मुकरिन विन अब्दुलाजिजका पुत्र हुन्।

सन् २०१५ को जनवरीदेखि अप्रिलसम्म युवराज रहेका मुकरिनलाई वर्तमान युवराजका पिता ८१ वर्षीय सलमानले पाखा लगाएका थिए। मन्सुरले आफ्ना पितालाई शाही अदालतमा परामर्शदाताको हैसियतले सघाएका थिए। सन् २०१७ को अप्रिलमा मन्सुर र अन्य ७ जना राजकुमारलाई उपगवर्नर नियुक्त गरिएको थियो। गृह मन्त्रालयको एक विज्ञप्तिअनुसार मन्सुर र अन्य ७ प्रान्तीय अधिकारी अवा शहरको तटीय परियोजनाको निरीक्षणका लागि आइतबार बिहान निस्केको साउदी प्रेस एजेन्सीले जनाएको छ।

साँझ त्यहाँबाट फर्कने क्रममा रेडा आरक्षण क्षेत्रमा उक्त हेलिकोप्टर हराएको थियो। हेलिकोप्टरको भग्नावशेष फेला परेको स्थानमा सम्भावित जीवित व्यक्तिको उद्धारकर्मीहरूले खोजी गरिरहेका सरकारी न्युज च्यानल अल इखवारियाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्