टेक्सासको चर्चमा अन्धाधुन्द गोली चल्यो, २६ को मृत्यु, २० घाइते



टेक्सास, (एजेन्सी)
संयुक्त राज्य अमेरिकाको टेक्सास राज्यको सदरल्यान्ड स्प्रिङस्थित एउटा चर्चमा आइतबार बिहान भएको गोली काण्डमा कम्तीमा २६ जनाको मृत्यु हुनुका साथै अन्य २० जनाभन्दा बढी घाइते भएको अमेरिकी प्रहरीले जानकारी दिएको छ।

मारिनेहरूको उमेर ५ देखि ७२ वर्षबीचको रहेको टेक्टसासका गर्भनर ग्रेग अबोटले बताइएका छन्। उनले आफ्नो राज्यमा अहिलेसम्मकै यो सबैभन्दा ठूलो नरसंहार भएको बताएका छन्।

आइतबार विल्सन काउन्टिमा रहेको बाप्टिस्ट चर्चमा स्थानीय समयअनुसार ११ बजे बिहान उक्त घटना भएको थियो।

अल जजिरा टेलिभिजनले गुडालुप काउन्टी सेरिफका सार्जेन्ट रोबर्ट मर्फीको भनाइलाई उद्धृत गर्दै गोली काण्डका संदिग्ध आक्रमणकारीको मृत्यु भइसकेको जनाएको छ।

प्रहरी अधिकारीहरूका अनुसार गोली काण्डका संदिग्ध आक्रमणकारी आफ्नै गाडीमा मृत्त फेला परेका थिए। उनी प्रहरी कारबाहीमा मारिएका हुन् वा उनले आत्महत्या गरेका हुन् भन्ने यकिन भइसकेको छैन। प्रहरी अधिकारिका अनुसार २३ जनाको चर्चभित्र, २ जनाको चर्चबाहिर र १ जनाको अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको हो।

ती आक्रमणकारीलाई लखेट्ने २ जना पुरुषलाई अमेरिकामा योद्धाको रूपमा प्रशंसा गरिएको छ। उनलाई लखेट्नेमध्ये एक जोहन्नी लान्जेन्डोर्फले ‘दुई जनाबीच गोली हानाहान’ भइरहेको देखेपछि आफूले आक्रमणकारीलाई लखेटेको स्थानीय सञ्चारमाध्यमलाई बताएका छन्।

उनले भने– ‘आक्रमणकारी सवारीसाधनमा बसेर भाग्न थालेपछि, अर्को एक जनाले आएर मलाई उनलाई लखेटौं भने।’ हाल एसियाको १२ दिने भ्रमणमा रहेका राष्ट्रपति डोनाल्ड ट्रम्पले यस घटनालाई ‘भयानक आक्रमण’ को संज्ञा दिएका छन्।

प्रारम्भिक अनुसन्धानबाट संदिग्ध आक्रमणकारी २६ वर्षीय पूर्वअमेरिकी सैनिक तथा बाइबलका शिक्षक डेभिन प्याट्रिक केली रहेको पत्ता लागेको डेली मेलले जनाएको छ। उनी आफ्नो पत्नी र सन्तानलाई कुटेको आरोपमा अमेरिकी वायुसेनाबाट निकालिएका थिए।

प्रहरीका अनुसार उनी कालो लुगा लगाएर एसल्ट राइफलसहित चर्च पुगेका थिए। सान एन्टोनियोको न्यु ब्राउनफेल्स निवासी उनले हालै मात्र आफ्नो फेसबुकमा एआर–१५ राइफलको तस्वीर पोस्ट गरेका थिए।

यस वर्ष मात्र अमेरिकामा १ हजार ४ सय ९५ वटा गोली काण्डका घटना भइसकेका छन्। पूर्वराष्ट्रपति बाराक ओबामाले अमेरिकामा बन्दुकसम्बन्धी कडा कानुन ल्याउन खोज्दा राइफल्स क्ल्बले विरोध गर्नुका साथै निकै विवाद उत्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस्