साउदी राजकुमार र मन्त्रीहरू हिरासतमा



रियाद, (एजेन्सी)
साउदी अरेबियाको भष्टाचार विरुद्धको एक नयाँ निकायले ११ जना राजकुमार , ४ जना कार्यरत मन्त्री र अन्य दर्जनौं पूर्वमन्त्रीलाई हिरासतमा लिएको सरकारी सञ्चार माध्यमले आइतबार जनाएको छ।

शाही आदेशअनुसार साउदी युवराज मोहम्मद विन सलमानको अध्यक्षतामा उक्त नयाँ समिति गठन भएको केही घन्टापछि नै तिनीहरूलाई हिरासतमा लिइएको हो। हिरासतमा लिइएकाहरूको नाम सार्वजनिक गरिएको छैन। बीबीसी सुरक्षा संवाददाता फ्रान्क गार्डनरले राजकुमार मोहममदले यस्तो सुधार कार्यक्रम अघि सार्दै आफ्नो बढ्दो शक्तिलाई सुदृढ बनाउन खोजेको बताएका छन्।

हिरासतमा लिइएकाहरूलाई कुन आरोप लगाइएको स्पष्ट पारिएको छैन। तर साउदी टेलिभिजन अल अरेबियाले सन् २००९ मा आएको जेद्धाहको बाढी र सन् २०१२ मा साउदी अरेबियामा फैलिएको मेर्स भाइरसको घटना बारे अनुसन्धान गरिएको जानकारी दिएको छ।

सरकारी साउदी प्रेस एजेन्सी ( एसपीए ) ले भ्रष्टाचार विरुद्धको यस नयाँ निकायसँग पक्राउ पुर्जी जारी गर्ने र भ्रमणमाथि प्रतिबन्ध लगाउने अधिकार भएको जनाएको छ। यसैबीच साउदी नेसनल गार्ड र नौसेनाका प्रमुखलाई विस्थापित गरिनुका साथै थुप्रै उच्च पदस्थ अधिकारीहरूलाई वर्खास्त गरिएको छ। एसपीएले साउदी नरेश सलमानले नेसनल गार्ड मिनिस्टर राजकुमार मितेव विन अब्दुल्लाह र नौसैनिक कमान्डर एडमिरल अब्दुल्लाह विन सुल्तान विन मोहम्मद अल सुल्तानलाई वर्खास्त गरेका हुन्।

तिनीहरूलाई पदबाट हटाइएकोमा कुनै आधिकारिक विवरण दिइएको छैन। स्वर्र्गीय नरेश अब्दुल्लाहका छोरा मितेवलाई कुनै समय राजगद्दीको उत्तराधिकारीका रूपमा लिइने गरिएको थियो। बीबीसीको सूत्रले रक्षा मन्त्रीको रूपमा रहेका राजकुमार मोहम्मदको अहिले राष्ट्रको सम्पूर्ण सुरक्षाफौजमाथि नियन्त्रण रहेको छ।

हालसालै राजकुमार मोहम्मदले साउदी अरेबियालाई आधुनिकीकरण गर्ने आफ्नो योजनाको प्रमुख एजेन्डा नरमपन्थी इस्लाम फर्काउनुरहेको बताएका थिए। हालै राजधानी रियादमा एउटा आर्थिक सम्मेलनलाई सम्बोधन गर्ने क्रममा उनले चाँडै नै अतिवादका सबै पक्षलाई उन्मूलन गरिने प्रतिबद्धता जनाएका थिए। गतवर्ष उनले सामाजिक र आर्थिक परिवर्तनका लागि विस्तृत कार्ययोजना अनावरण गरेका थिए।

प्रतिक्रिया दिनुहोस्