पाँच महिनासम्म महासागरमा अलपत्र यात्रुको उद्धार



 

वासिङ्टन, (एजेन्सी)
अमेरिकी नौसेनाले झन्डै पाँच महिनासम्म प्रशान्त महासागरमा अलपत्र परेका दुई अमेरिकी महिला र तिनीहरुका दुईवटा कुकुरलाई शुक्रबार सकुशल उद्धार गरेको सरकारी अधिकारीहरुले बताएका छन्।

जेनिफर एप्पेल र तासा फुइयावा सानो जहाजमा बसेर हवाईबाट टाहिटीको सफरमा निस्केका बेला खराब मौसमका कारण सो जहाजको इन्जिन बिग्रिएको थियो। त्यसपछि जापानदेखि करिब १ हजार ५ सय किमि दक्षिणपूर्वको खुला सागरमा सो जहाज तैरिरहेको थियो। एउटा माछा मार्ने जहाजले अमेरिकी सरकारलाई तिनीहरुबारे सूचना दिएपछि बल्ल तिनीहरुको उद्धार गरिएको हो। अमेरिकी नौसेनाद्वारा जारी गरिएको एक विज्ञप्तिमा मे महिनामा यात्रा प्रारम्भ गरेका तिनीहरुले बतासले घचेट्दै आफ्नो जहाजलाई सागर किनारमा पुर्याइदिने आशा गरेको जनाइएको छ। तिनीहरुले दिनहुँ मद्दतका लागि कल गर्ने गरेको तर तिनीहरुनजिक कुनै जहाज नपुगेकाले तिनीहरुको कलिंग सिग्नल नटिपिएको बताइएको छ।

तर २४ अक्टोबरमा एउटा माछा मार्ने ताइवानी जहाजले महासागरमा यसरी एउटा जहाज अनियन्त्रित रूपमा देखेपछि गुआमस्थित अमेरिकी सेनालाई खबर गरिदिएको थियो। संयोगवश तिनीहरुसँग पानी शुद्धीकरण गर्ने यन्त्र र प्रशस्त ड्राइफुड भएकाले तिनीहरु जीवित रहन सफल भएको बुझिएको छ।

प्रतिक्रिया दिनुहोस्