दलितलाई धर्म परिवर्तन गराउने मायावतीको चेतावनी



 

लखनउ, (एजेन्सी)
भारतको बहुजन समाज पार्टीका नेता मायावतीले दलितप्रति भाजपा सरकारको रवैया परिवर्तन नहुने हो भने आफ्ना समर्थकहरुसहित हिन्दू धर्म छोडेर बौद्ध धर्म अपनाउने चेतावनी दिएकी छिन्।

आजमगढको एक र्यालीलाई सम्बोधन गर्दै मायावतीले केन्द्र सरकारको निन्दा गर्दै उक्त चेतावनी दिएकी थिइन्। लोकसभा चुनाव र पछि विधानसभाको चुनावमा बीएसपीले नराम्रो पराजय बेहोरेपछि सम्भवतः दलित समुदायमा मायावतीको प्रभाव समाप्त भएको अनुमान गरिएको थियो। तर मायावतीको उक्त बयानले दलित समुदाय पुनः एक पटक बीएसपी र मायावतीसँग उभिएको देखिएको छ।

विश्लेषकहरु उक्त समुदायको मत खस्केको आशंकामा मायावतीले उक्त कदम अगाडि सारेको बताउँछन्। विगतका केही वर्षको चुनावमा हार बेहोरेको भए पनि मायावतीले हिम्मत नहारेको उनीहरु बताउँछन्। उनले आफ्ना दलित मतदातालाई कुनै पनि मूल्यमा आफूसँग राखिराख्ने प्रयासलाई त्यागेको छैन।

हिन्दू धर्म त्यागेर बौद्ध धर्म अपनाउने कुरा मायावती एक्लैले आफ्ना लागि गरेको होइन। उनको यो योजनामा उनका समर्थकहरुलाई पनि समावेश गरेको छ।
मायावतीको दलित मतदाता विगतका केही दिनमा खस्केको अवश्य हो तर उनीहरु फर्केरै आउँदैनन् भन्न सक्ने अवस्था छैन। अर्को, दलित समुदायको एउटा ठूलो हिस्सा अहिले पनि उनीसँग छ र उनीहरु मायावतीप्रति अत्यन्तै बफादार छन्। आफ्ना नेताका लागि उनीहरु जे पनि गर्न तयार हुन्छन्। तर मायावतीप्रति विमति राख्ने दलितहरु पनि त्यतिकै छन्।

२३ वर्षीय सुनील राज बीए पास हुन् र उनी निजी कम्पनीमा काम गर्छन्। उनी भन्छन्– ‘मायावतीले जसरी दलित भोट लिइन्, त्यो हिसाबमा उनीहरुका लागि केही काम गरेको देखिँदैन। गरीब दलित आज पनि त्यही स्थितिमा छन्, जुन स्थितिमा उनीहरु ५० वर्ष पहिले थिए। यो अवधिमा केही दलितले धरै राम्रो प्रगति गरेका छन्, यो भिन्न कुरा हो। जसले प्रगति गरेको छ, उनीहरुले उनको कुरा सुनेर अवश्य पनि धर्म परिवर्तन गर्नेछन् तर सबै दलितले गर्छन् भन्ने मलाई लाग्दैन।’

प्रतिक्रिया दिनुहोस्