राष्ट्रपति सीलाई ट्रम्प र किमको बधाई



 

वासिंगटन, (एजेन्सी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै साताको चिनियाँ कम्युनिस्ट पार्टीको कंग्रेसपछि असाधारण रूपमा शक्तिशाली भएका आफ्ना चिनियाँ समकक्षी सी जिन पिङलाई बिहीबार बधाई दिएका छन्। अमेरिकामा नै एउटा टेलिभिजनलाई अन्तर्वार्ता दिने क्रममा ट्रम्पले सीको प्रंशसा गर्दै केहीले उनलाई चीनको राजासमेत भन्न सक्ने प्रतिक्रिया दिएका छन्।

दोस्रो कार्यकाल निश्चित भएपछि कंग्रेसमा आफ्नो उत्तराधिकारीको स्पष्ट संकेत नदिएका सीले सत्तामा बलियो पकड बनाएका छन्’। सीको नाम र विचार धारा पार्टीको संविधानमा समावेश गरिएको छ। ट्रम्प र सीबीच आगामी महिना ट्रम्पको औपचारिक चीन भ्रमणको क्रममा भेटवार्ता हुने भएको छ।

यसअघि गत जुलाईमा जि–२० को शिखर बैठकमा यी दुई नेताबीच भेटघाट भएको थियो। ट्विटरमार्फत् ट्रम्पले टेलिफोनमार्फत् बधाई दिने क्रममा सीसँग उत्तर कोरिया र व्यापार व्यवसाय बारे पनि छलफल भएको बताएका छन्। केही घन्टापछि उत्तर कोरियाली सर्वोच्च नेता किमजोङ उनले पनि सीलाई बधाई दिएका छन्।

यसैबीच चिनियाँ सरकारी सञ्चार माध्यमले पनि सीले पनि ट्रम्पसँगको वार्तामा आगामी दिनहरुमा अमेरिका र चीनबीचको सम्बन्ध विकासका लागि संयुक्त रूपमा अघि बढ्ने बताएको जनाएको छ। फक्स बिजिनेस नेटवर्कलाई अन्तर्वार्ता दिँदै ट्रम्पले सी निकै असल व्यक्ति भएको र उनीसँगको आफ्नो सुमधुर समबन्ध रहेको बताएका छन्।

साथै ट्रम्पले चीनमा यस्तो राजनीतिक सफलता यसअघि अरुले पाउन नसकेको भन्दै सिलाई शक्तिशाली व्यक्तिको संज्ञा पनि दिएका छन्। अमेरिकापछि विश्वमा अर्को ठूलो अर्थतन्त्र भएको मुलुक चीन हो। तर दक्षिण र पूर्वी चिनियाँ सागरको भूमि विवादलाई लिएर अमेरिका र चीनबीचको सम्बन्धमा केही तिक्तता रहँदै आएको छ।

यसै गरी उत्तर कोरियाको सरकारी समाचार निकाय केसीएनएले किमले सीलाई पठाएको बधाई तथा शुभकामना सन्देशमा दुवै पार्टी र देशले आपसी हितलाई ध्यानमा राखेर आपसी सम्बन्धलाई थप मजबुत गरिने उल्लेख गरिएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्