पाकिस्तान–अमेरिकाबीच, विश्वासको कमी रहेको स्वीकार



इस्लामावाद, (एजेन्सी)
पाकिस्तानका विदेश मन्त्री ख्वाजा आसिफले अफगानिस्तानको मुद्दामा उनको देश र अमेरिकाबीच विश्वासको कमी भएको स्वीकार गरेका छन्।

यसलाई स्थापित गर्नका लागि दुई देशबीच वार्ता भइरहेको बताउँदै आसिफले भारतमाथि पाकिस्तानमा अशान्ति फैलाएको आरोप पनि लगाएका छन्।

अमेरिकी विदेशमन्त्री रेक्स टिलरसन मंगलबार पाकिस्तानको भ्रमणमा थिए। टिलरसनले पाकिस्तानमा अमेरिकाको नयाँ दक्षिण एसिया नीतिको उल्लेख गरेका थिए। उनले अफगानिस्तानमा शान्ति कायम गर्नमा अमेरिका र अन्य देशसँगै पाकिस्तानको कस्तो भूमिका रहन सक्छ भन्ने विषयमा कुरा उठाएका थिए। टिलरसनको उक्त बयान आएपछि पाकिस्तानी विदेश मन्त्री आसिफको उक्त प्रतिक्रिया आएको हो।

एक प्रश्नको जवाफमा आसिफले भने– ‘हो, हामीबीच विश्वासको कमी छ, तर हाम्रो छलफल भइरहेको छ। विश्वासको कमी हटाउनका लागि दुवै पक्ष इच्छुक छौं।’

अमेरिका र विश्वका अन्य शक्तिले एक दशकभन्दा लामो समयदेखि प्रयास गरेको तर उनीहरू अफगानिस्तानमा संघर्ष अन्त्य गर्न असफल रहेको उनले बताए।

उनले पाकिस्तान अमेरिकी सहयोगको भरोसामा नभएको पनि प्रस्ट पारे। पाकिस्तानले उसको केही हिस्सा मात्र पाउने गरेको पनि उनले बताए। पाकिस्तानले अमेरिकाबाट कुनै प्रकारको सैन्य उपकरणहरू पनि नपाएको उनले बताए।

जियो टिभीसँगको कुराकानीमा पाकिस्तानी नेताहरूले टिलरसनलाई पाकिस्तानमा आतंकवादीका लागि कुनै आश्रयस्थल नभएको प्रस्ट पारेको बताए– ‘आतंककारी हमलाको योजना पाकिस्तानको जमिनमा बन्दैनन्, पाकिस्तानमा आतंककारीका लागि कुनै प्रकारको आश्रयस्थल छैन। हामीले अमेरिकी प्रतिनिधिहरूलाई यस विषयमा प्रस्ट कुरा राखेका छौं।’

पाकिस्तानले अफगानिस्तानमा शान्ति स्थापित गर्न चाहेको तर भारतले अफगान भूमि प्रयोग गरी पाकिस्तानमा अशान्ति फैलाइरहेको आरोप पनि उनले लगाए।

प्रतिक्रिया दिनुहोस्