चीनको पोलिटब्युरो स्थायी समितिमा नयाँ नियुक्ति, सिको प्रभुत्व लामो समय रहने संकेत



बेइजिङ, (एजेन्सी)
चीनले आफ्नो नयाँ वरिष्ठ नेतृत्व समिति बुधबार सार्वजनिक गरेको छ। तर परम्परालाई तोड्दै सो समितिमा राष्ट्रपति सि जिनपिङको स्पष्ट उत्तराधिकारी संकेत गरिएको छैन। यसबाट सिको आगामी पाँच वर्षसम्म चीनमा बलियो पकड हुने देखिएको छ।

मंगलबार मात्र सिको विचार धारालाई चिनियाँ कम्युनिस्ट पार्टीको संविधानमा समावेश गरिएको थियो। तर यसले ६४ वर्षीय सिले सन् २०२२ पछि पनि शासन चलाउँछन् त भन्ने प्रश्न उठाएको छ। चीनको सबैभन्दा शक्तिशाली निकाय सात सदस्यीय पोलिटब्युरो स्थायी समितिमा पाँच जनालाई नयाँ नियुक्ति दिइएको छ।

यस समितिले महŒवपूर्ण नीतिगत विषयहरूमा छलफल र निर्णय गर्ने गर्दछ। पार्टीको संविधानले चीनको प्रमुख नेता पनि स्थायी समितिको सदस्य हुनुपर्ने भनिएकाले पनि यस नयाँ नियुक्तिमा विशेष रुचि राखिएको हो। सिबाहेक नयाँ नियुक्तिमा पुरानै कायम हुनेमा ६२ वर्षीय प्रधानमन्त्री लि केक्वियांग रहेका छन्। यस अघि परम्परागतरूपमा चिनियाँ नेताहरूले यस समितिको पुनर्गठनमार्फत् संभावित उत्तराधिकारीहरूको संकेत दिने गरेका थिए।

सिले करिब ५० वर्ष उमेरको हाराहारीमा रहेका उत्तराधिकारीका लागि विश्वसनीय दुई व्यक्ति चेन माइनर र गुआङदोङ पार्टीका सचिव हु चुन्हुवालाई आफ्नो उत्तराधिकारी बनाउने बलियो अनुमान गरिएको थियो। तर अहिलेका नयाँ नियुक्ति पाएकाहरू सबै ६० वर्ष उमेर पुगेका छन्।

र, तिनीहरूले पाँच वर्षीय कार्यकालमै अवकाश पाउने संभावना रहेकाले पनि यसले एउटा छुट्टै संकेत देखिन्छ। कम उमेरका कुनै पनि स्थायी समितिका सदस्य नभएबाट पनि सिको लामो समय सत्तामा रहने उद्देश्य झल्किन्छ। माओको जमानामा देखिएको अन्यौल नदाहोरियोस् भन्ने हेतुले नब्बेको दशकमा वरिष्ठ नेता देंग सियाओ पिङले उत्तराधिकारीको संकेत दिनुपर्ने परम्परा बसालेका थिए।

सि अघिका दुई अग्रज नेताले पनि पुरानै राजनीतिक परिपाटीलाई अवलम्वन गरेका थिए। तर सन् २०१२ मा सत्तामा पुगेका सिले भने आफ्नै नियम चलाउन खोजेको देखिन्छ। सिको विचारधारलाई पार्टीको संविधानमा राख्ने विषयमाथि मंगलबार कंग्रेसमा मतदान भएको थियो।

प्रतिक्रिया दिनुहोस्