चीनको नयाँ नेतृत्व सार्वजनिक, यी हुन् सी जिनपिङका नयाँ सारथी



बेइजिङ, चिनियाँ कम्युनिष्ट पार्टीको १९औं राष्ट्रिय महाधिवेसनले सात सदस्यीय नयाँ स्थायी समितिसहित पाँच वर्षका लागि नयाँ नेतृत्व चयन गरेको छ।

सात सदस्यीय नयाँ स्थायी समिति

१) सी जिनपिङ
२) ली खछ्याङ
३) ली झाङ्सु
४) वाङ याङ
५) वाङ हुनिङ
६) झाओ लेजी
७ ) हान झेङ

महाधिवेसनले पार्टीको घोषणापत्रमै ‘सी जिनपिङ विचारधारा’ राख्ने निर्णय गरेको छ। यही विचारधारा र सी जिनपिङको नेतृत्वलाई साथ दिनेगरी नयाँ नेतृत्व चयन गरिएको छ। बेइजिङको ग्रेट हलमा गत बुधबार सुरु भएको अधिवेशन मंगलबार समापन भएको थियो।

धेरैले अनुमान गरे झैँ पार्टीको सर्वोच्च निकाय पोलिटब्यूरो स्थायी समिति सात सदस्यीय नै राखिएको छ। जसमा पार्टी महासचिवको रुपमा सी जिनिपिङ रहनेछन् भने पुरानो स्थायी समितिका सदस्य तथा वर्तमान प्रधानमन्त्री ली खछ्याङलाई निरन्तरता दिइएको छ।

नयाँ पाँच जना स्थायी समिति सदस्यमा सीले अधिकांश आफु निकटका नेताहरूलाई ल्याएका छन्। महाधिवेशनको निर्णय बेइजिङस्थित ग्रेट हलमा बुधबार बिहान पत्रकार सम्मेलन आयोजना गरी सार्वजनिक गरिएको छ। ली झाङ्सु, वाङ याङ, वाङ हुनिङ, झाओ लेजी र हान झेङ स्थायी समितिको नयाँ सदस्य चयन भएका छन्।

नयाँ नेतृत्वको वरियाता क्रम यही नम्बर अनुसार हुनेछ। स्थायी समितिमा चयन हुने सर्वाधिक अनुमान गरिएका र सी जिनपिङको उत्तराधिकारका रुपमा हेरिएका ग्वाण्डोङ प्रान्तका पार्टी सचिव तथा पोलिटब्यूरो सदस्य हु चुनहुवा सीका नयाँ पाँच सारथीमा पर्न सकेनन्।

बुधबार बेइजिङस्थित ग्रेट हलमा पत्रकार सम्मेलन गर्दै सी जिनपिङले आफ्नो नयाँ नेतृत्व सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । अधिवेशनले पार्टीको केन्द्रीय समिति र पोलिटब्यूरो पनि चयन गरेको छ।

सात सदस्यीय स्थायी समिति चिनियाँ कम्युनिष्ट पार्टीको सर्वोच्च निकाय हो। चीनको राष्ट्रपति, प्रधानमन्त्री, नेशनल कंग्रेसको अध्यक्ष, राष्ट्रिय सल्लाहकार परिषद् सीपीपीसीसीको अध्यक्ष र भ्रष्टाचार नियन्त्रण आयोगका अध्यक्ष यिनै सात जनामध्ये हुनेछन्।

पार्टीको विधानमै सि जिनपिङ बिचारधारा उल्लेख गरी चीनमा माओपछिका शक्तिशाली नेता बनेका सी पार्टीको महासचिव, राष्ट्रपति तथा सैन्य आयोगको अध्यक्ष हुनेछन्। सीले अहिलेका प्रधानमन्त्री ली खछ्याङलाई अर्को कार्यकालमा पनि निरन्तरा दिने भएका छन्।

स्थायी समितिमा संभवत् कान्छा सदस्य हुनेछन् वाङ याङ, जो कार्यकारी उपप्रधानमन्त्री हुने चर्चामा छन्। उनले राष्ट्रपति सीको विशेष दूतका रुपमा केही महिनाअघि मात्र नेपाल भ्रमण गरेका थिए।

 

प्रतिक्रिया दिनुहोस्