पुटिनलाई रुसकी पेरिस हिल्टनको चुनौती



मस्को, (एजेन्सी)
रुसकी पेरिस हिल्टन भनेर चिनिने सेलिब्रिटी सेनिया सोबचाक अहिले चर्चाको शिखरमा रहेकी छन्। उनले अर्को वर्ष मार्चमा हुने रुसको राष्ट्रपति चुनावमा भ्लादिमिर पुटिनविरुद्ध मैदानमा उत्रने चाहना राखेकी छिन्। उक्त चुनावमा पुटिन उठ्ने करिब तय नै भएको जनाइएको छ।

सेनिया सोबचाक चुनाव लड्ने सम्भावना कमै थियो। शुरूमा उनले विपक्षी नेता अलेक्सी नेवलानीलाई समर्थन गरेकी थिइन्। तर अलेक्सी भ्रष्टाचारको एक मामिलामा दोषी ठहरिएपछि चुनाव लड्न अयोग्य भएका छन्। यद्यपि अलेक्सी नेवलानीले सेनियालाई चुनाव नलड्नका लागि आग्रह गरेका थिए। यसलाई केही राजनीतिक विश्लेषकले विपक्षी खेमामा आएको फुटका रूपमा लिएका छन्। सोबचाकको उम्मेदवारीको हल्ला लामो समयदेखि चलिरहेको थियो। अलेक्सीले गत महिना नै सोबचाकको विषयमा आफ्नो प्रस्ट धारणा राखेका थिए।

अलेक्सीले सेनियालाई क्रेमलिनको कठपुतली भएको आरोप लगाउँदै उनको उम्मेदवारीलाई अस्वीकार गर्ने प्रयास गरेका थिए। तर सेनियाले ती आरोपलाई अस्वीकार गरेकी छिन्। सेनियाले यदि अलेक्सी नेवलानीलाई चुनाव लड्न दिएमा आफूले उम्मेदवारी फिर्ता लिने बताएकी थिइन्। तर यस्तो स्थिति बन्ने सम्भावना अत्यन्त न्यून छ।

सेलिब्रेटीबाट पत्रकार बनेकी सेनियाले आफू नेताहरूको भ्रष्टाचार र फट्याइँबाट थाकिसकेकाको आवाज बन्ने बताएकी छिन्। उनी पछिल्लो १४ वर्षमा पहिलो महिला उम्मेदवार बन्न लागेकी हुन्। उनले धेरैलाई आकर्षित गरिरहेकी छिन् तर उनलाई मन नपराउनेहरू पनि त्यतिकै छन्। पुटिन सेवियाका पारिवारिक मित्र हुन्। सेनियाले आफू कुनै क्रान्तिको विरोधी नभएको तर एकजना राम्रो व्यस्थापक र मध्यस्थ भएको बताइन्। रुसमा डिसेम्बर ७ देखि चुनाव अभियान शुरू हुँदै छ। सन् २००० मा पहिलो पटक राष्ट्रपति बनेका पुटिनले अहिलेसम्म आफ्नो उम्मेदवारीको सार्वजनिक घोषणा गरेको छैन।

३५ वर्षीय सेनिया सेन्टपिटर्सवर्गका पूर्वमेयर महहुम एनाटोली सोबचाककी छोरी हुन्। उनैले नब्बेको दशकमा केजीबीको पूर्व जासुस भ्लादिमिर पुटिनलाई उक्त जागिर दिएका थिए। सन् २०१२ मा सेनियाले पुटिन विरोधी प्रदर्शनमा सहभागी भएर सबैको ध्यान तानेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्