चिनियाँ कम्युनिस्ट पार्टीको संविधानमा ‘सि विचारधारा’



 

बेइजिङ, (एजेन्सी)
चीनको सत्तारूढ कम्युनिस्ट पार्टीले सि जिन्पिङको नाम र सिद्धान्तलाई आफ्नो संविधानमा राख्ने विषयमा मतदान गरेको छ। उनलाई चिनियाँ कम्युनिस्ट पार्टीका संस्थापक माओत्से तुङलाई जति नै सम्मान दिइन लागेको हो। चीनको सबैभन्दा महत्त्वपूर्ण राजनीतिक बैठक कम्युनिस्ट पार्टी कंग्रेसको अन्तिम बैठकमा संविधानमा ‘सि जिन्पिङ विचारधारा’ समावेश गर्न गरिएको मतदानमा सर्वसम्मति भएको थियो। सन् २०१२ मा सत्तामा पुगेयता सिले आफ्नो राजनीतिक शक्ति बढाउँदै लगेका हुन्।

यस कदमपछि अब सिलाई चुनौती दिनुभनेकै सत्तारूढ कम्युनिस्ट पार्टीसँग निहुँ खोज्नु सावित हुने भएको छ। चिनियाँ कम्युनिस्ट पार्टीको संविधानमा ‘नयाँ युगका लागि चिनियाँ विशेषतासहितको समाजवाद माथिको सि जिन्पिङ विचारधारा’लाई समावेश गर्न अन्तिम प्रक्रिया अघि बढाउन बेइजिङको ग्रेट हल अफ पिपुलमा २ हजार जनाभन्दा बढी प्रतिनिधि जम्मा भएका थिए।

तिनीहरूलाई यस कार्यप्रति कुनै आपत्ति छ भनी सोधिँदा तिनीहरूले ठूलो स्वरमा ‘छैन’ भनेको त्यहाँ उपस्थित पत्रकारहरूले बताएका छन्। विगतमा पनि चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूको सिद्धान्तलाई पार्टीको संविधानमा समाविष्ट गर्ने गरिएको थियो। तर ‘विचारधारा’का रूपमा संस्थापक माओत्से तुङको सिद्धान्तबाहेक अरूको राखिएको थिएन।

माओ र देंग सिआओ पिङको नाम मात्र तिनीहरूको सिद्धान्तसँग जोडिएको थियो। तर देंगको नाम उनको मृत्युपर्यन्त मात्र जोडिएको थियो। चीनमा नयाँ राजनीतिक नाराको आलोचना बिरलै मात्र हुने गरेको छ।

तर अहिले चीनका स्कुल र कलेजका विद्यार्थी, सरकारी कलकारखानाका कर्मचारी तथा मजदुरहरूले ९ करोड सदस्य रहेको कम्युनिस्ट पार्टीमा प्रवेश गरेर नयाँ युगको चिनियाँ विशेषताको समाजवादमा ‘सि जिन्पिङको विचारधारा’ अध्ययन गर्नुपर्ने भएको छ।

आधुनिक चीनको तेस्रो अध्यायलाई पार्टीले ‘नयाँ युग’को संज्ञा दिने गरेको छ। पहिलो अध्ययमा अध्यक्ष माओले गृहयुद्धबाट ध्वस्त चीनलाई एकताले बाँधेका थिए, दोस्रो अध्यायमा देंग सियाओ पिङले चीनलाई आर्थिक रूपमा समृद्ध बनाए, यस नयाँ युगमा थप राष्ट्रिय एकता र समृद्धिलगायत चीनलाई स्वदेशमा थप अनुशासित गर्दै विश्वमाझ शक्तिशाली बनाउने योजना रहेको छ।

प्रतिक्रिया दिनुहोस्