सोल, (एजेन्सी)
दक्षिण कोरियाको जासुसी निकायले सन् २०१२ को राष्ट्रपतीय निर्वाचनको परिणाममा आफूले अनियमितता गर्न खोजेको शुक्रबार स्विकारेको छ। आन्तरिक अनुसन्धानबाट करिब ३० वटा टोलीले कन्जेरभेटिभ उम्मेदवारलाई जिताउन दुई वर्षभन्दा लामो समय अथक प्रयास गरेको पत्ता लागेको छ।
राष्ट्रपति पार्क गेयुन ह्येले त्यसबेला लिवरल प्रतिद्वन्द्वी मुन जाय इनलाई पराजित गरेकी थिइन्। तर अहिले भ्रष्टाचारको अभियोगमा पार्कले मुद्दा खेपिरेहकी छिन् भने उनको स्थानमा मुन स्थापित भएका छन्।
हाल अनुसन्धान गरिँदै गरेका पूर्वगुप्तचर प्रमुख वोन सेइ हूनले मुद्दा सुनुवाइको क्रममा दोस्रोचोटी सो चुनावमा अनियमितता गर्न खोजेको स्विकारेका छन्। उनलाई सन् २०१५ मै अदालतले तीन वर्ष लामो कारावास सजाय सुनाएको थियो। तर उनले आफूलाई लगाइएको अभियोगविरुद्ध अपिल गरेकाले मुद्दालाई पुनः नयाँ ढंगले हेर्न शुरू गरिएको हो।
तत्कालीन राष्ट्रिय गुप्तचर सेवा (एनआईएस) का अनुसन्धानकर्ताहरूले इन्टरनेट विशेषज्ञहरू झिकाएर सामाजिक सञ्जालको पोस्टिङको मत सर्भेक्षणलाई यताउता पार्न खोजेको बताइएको छ।
त्यतिबेला पार्क झिनो मत अन्तरले मात्र जितेकी थिइन्।
तर पार्कको पार्टीका प्रवक्ता कांग ह्यो सांगले उक्त चुनावपछि पनि एनआईएसले निरन्तर राजनीतिमा हस्तक्षेप गर्ने प्रयास गरेको बताएका छन्। पार्कलाई गत अप्रिलमा भ्रष्टाचार, पदीय अधिकारको दुरुपयोग, राजनीतिक हस्तक्षेप र राष्ट्रिय गोप्य सूचना चुहावट गरेको जस्ता अभियोग लगाइएको थियो।
साथै उनलाई आफ्नी एक निकटतम मित्र चोइ सुन सिललाई राजनीतिक फाइदा दिलाउने लोभमा विभिन्न व्यापारिक कम्पनीहरूबाट अवैध ढंगले पैसा संकलन गर्न लगाएको आरोप पनि लागेको थियो। तर उनले ती अभियोगहरू अस्वीकार गरेकी थिइन्।