माथिल्लो अरुणलाई कम्पनी ढाँचामा लगिने



काठमाडौं, (नेस)
माथिल्लो अरुण जलविद्युत् आयोजनालाई कम्पनी ढाँचामा अगाडि बढाउन नेपाल विद्युत् प्राधिकरणले अरुण हाइड्रो इलेक्ट्रिक कम्पनी दर्ता गरेको छ।

प्राधिकरणको सहायक कम्पनीका रूपमा दर्ता गरिएको कम्पनीमार्फत् आयोजनाको थप प्रक्रिया अगाडि बढाउन ऊर्जा मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव दर्ता गर्ने तयारीमा रहेको छ। यसअघि मन्त्रिपरिषद्ले सो आयोजना प्राधिकरणले बनाउन सैद्धान्तिक सहमति दिइसकेको छ।

३३५ मेगावाट क्षमताको सो आयोजना नेपालका अन्य आयोजनाभन्दा सस्तो आयोजनाको रुपमा मानिन्छ। हाल भारतीय कम्पनीले प्रवद्र्धन गरिरहेको अरुण तेस्रो जलविद्युत् आयोजनाको बाँधस्थलभन्दा ८ किलोमिटर माथि उक्त आयोजनास्थल रहेको छ। नेपाल विद्युत् प्राधिकरणले नै सन् १९९१ मा सम्भाव्यता अध्ययन गरेको थियो।

पूर्वको मोतीको उपमा पाएको उक्त आयोजना निर्माण गर्न चिनियाँ कम्पनीलाई दिने तयारी भएको भन्दै यसअघि विरोध समेत हुँदै आएको थियो।

प्रतिक्रिया दिनुहोस्