बजेट अभावमा जग्गा अधिकरण अलपत्र



(दिपेन्द्र शर्मा)/जाजरकोट, ४ माघ     ।
राष्ट्रिय गौरवको आयोजना नलसिंहगाड जलविद्युत आयोजना क्षेत्रमा जग्गा अधिकरण कार्य अलपत्र परेको छ । गत चार वर्ष देखि शुरु गरिएको जग्गा अधिग्रहणको कार्य यस बर्ष प्रयाप्त बजेटको अभावमा रोकिएको हो ।

नलसिंहगाड जल विद्युत आयोजनाले २०७० माघदेखि आयोजनाको लागि जग्गा अधिकरणको कार्य  शुरु गरेपनि गत बर्ष सम्म १० करोड मात्र मुआब्जा वितरण भएको छ । प्रभावित क्षेत्रमा आयोजनाले हालसम्म २ सय २५ रोपनी  जग्गाको मुआब्जा वितरण गरेको हो । आयोजनाले चालु आर्थिक बर्षमा शिविर तथा पावर हाउसका लागि, विद्यालय, गौचरण, नर्सरी, जंगल, सडक, चौतारी र स्थानीय बासिन्दाको गरी ५ सय ३१ रोपनी जग्गा अधिकरण गर्न गत बर्ष नै निर्णय गरेको थियो । आयोजना लाई जग्गा अधिकरणका लागि २६ करोडको आवश्यकता पर्ने भएको छ ।

आयोजना निर्माणको क्रममा ६ हजार रोपनी जमिन र १ सय ५० घरपरिवारका ८ सय स्थानीय वासिन्दा प्रभावित  हुने  नलसिंहगाड जलविद्युत आयोजनाका कार्यकारी निर्देशक मोतिबहादुर कुंवरको वताए । “आयोजनालाई आवश्यक पर्ने ६ हजार रोपनी जग्गा अधिकरण गर्नका लागी  मुआब्जा दिन ३ अर्व बजेट आबश्यक पर्छ । आयोजनाले आगामी ३ बर्षमा ६ हजार रोपनी जग्गा अधिकरण गर्नु पर्ने हुन्छ ” वजेट अभावमा यि सवै काम रोकिएको छ कुवरले भने । नलसिंहगाड जलविद्युत आयोजनालाई ८० प्रतिशत जग्गा अधिकरण नगरेर आयोजनालाई निर्माणको चरण जान नमिल्ने कानुनी ब्यवस्था रहेको कुंवरको भनाइ छ ।

“अबको केही समयमा आयोजनाको डिपीआर काम पुरा हुन्छ , त्यस लगत्तै निर्माण प्रकृया अगाडि बढाउनु पर्छ तर मुआब्जा वितरणकै लागि रकम अभाव हुदा काम गर्न समस्या हुने गरेको छ” निर्देशक कुवरले भने । चालु आर्थिक बर्षमा मुआब्जा वितरण लागि रकम न्युन विनियोजन भएकोले अर्थ मन्त्रालयसंग थप रकमको लागी उर्जा मन्त्रालय तथा आयोजना वाट  पहल भइरहेकोले छिटै आयोजनाको अधिकरणको काम शुरु हुने  निर्देशक कुँवरले बताए ।

उर्जा मन्त्रालयले आयोजना गरेको जलविद्युत आयोजना हरुको वार्षीक समिक्षा कार्यक्रममा नलसिंहगाड जलविद्युत आयोजना उत्कृष्ट कार्य गर्ने आयोजनामा परेकोछ । वजेट अभाव हुदा पनि आयोजनाले गर्ने प्रभावकारी रुपमा संचालन गरेकोले  उत्कृष्ट भई पहिलो नम्बरमा परेको कुवरले जानकारी दिए । आयोजनाको निर्माण आगामी ८ बर्ष भित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ । आयोजना निर्माणमा करीव एक खर्बको लागत लाग्ने अनुमान गरीएको  छ । निर्माण सम्पन्न भएमा नलसिंहगाड जलविद्युत आयोजना मध्यपश्चिमकै उर्जाको प्रमुख श्रोत बन्ने र देशमा भएको  उर्जा संकट टार्न कोशे ढुङ्गा सावित हुने निर्देशक कुवरको विश्वास छ ।

डिपीआर निर्माणका लागि अन्तराष्टिय परामर्षदाता कम्पनी छनोट भइ आयोजनाको विस्तृत अध्ययन गर्नका लागि  ३० महिने  कार्यावधि राखेर  काम सुरु भएको आयोजनाले जनाएको छ । सरकारले उच्च प्राथमिकता अर्थात पी वानमा राखेको नलसिंहगाड जलविद्यूत आयोजनाको विस्तृत कार्ययोजना प्रतिवेदन डिपीआर निर्माणका लागि  अष्ट्रेलियन अमेरीकन जेभी  स्मेक  र एम डव्लु एच सम्झौता भई काम शुरु भएको छ  ।

आयोजनाको जल विज्ञान मापन आँकलन, भुकुम्प सर्भे, भौगर्भिक सर्भे, कोर ड्रिलिं¨, पावर अटिमाईजेसन, फिल्ड सर्भे लगाएत संभाब्यता अध्ययनको काम डिपीआर अन्तरगत हुने भएको छ । डिपीआर अन्तरगत आयोजनाको विस्तृत सम्भाव्यता अध्ययन, विस्तृत डिजाइन योजना निर्माण, योजना कार्यान्व्यनको ढाँचा र कार्ययोजना निर्माण,आयोजनाको वाँध निर्माण भएपछि विस्थापित हुने जनसंख्याको  पुनस्थापना र वस्ती विकासको कार्ययोजना निर्माण गर्न सजिलो हुने आयोजनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्