अनिश्चितकालीन बन्दको घोषणा



शोभाखर पन्थी, अर्घाखाँची

सरकारले संविधान संशोधनमार्फत ५ नम्बर प्रदेशलाई टुक्रइउन लागेको विरोधमा अर्घाखाँचीका बासिन्दा आन्दोलित भएका छन्। सरकारले मंगलबार अर्घाखाँचीलगायतका पहाडी जिल्लालाई टुक्रइई ४ नम्बर प्रदेशमा लैजाने गरी संविधान संशोधनको प्रस्ताव संसद्मा दर्ता गरेपछि स्थानीय बासिन्दाहरू स्वतःस्फुर्तरूपमा आन्दोलनमा उत्रिएका थिए।

बुधबार बिहान ठूलो संख्यामा सडकमा आएका स्थानीय बासिन्दाहरूले ५ नम्बर प्रदेशलाई टुक्रइउन नहुने भन्दै सदरमुकाम सन्धिखर्कमा प्रदर्शन गरेका थिए। प्रदर्शनपछि स्थानीय बासिन्दाले अनिश्चितकालीन जिल्ला बन्दको घोषणा गरेका छन्। स्थानीय बासिन्दाको बन्दका कारण जिल्लाको जनजीवन पूर्णरूपमा ठप्प भएको छ।

जिल्लामा यातायात, उद्योग व्यापार, शिक्षण संघसंस्था पूर्णरूपमा बन्द भए। बन्दकर्ताले जिल्लामा सञ्चालित जिल्लास्तरीय दोस्रो त्रैमासिक परीक्षा सञ्चालनमा रोक लगाएका थिए। बन्दका कारण जिल्ला शिक्षा कार्यालयले लिन लागेको प्राथमिक तह करार शिक्षक नियुक्तिको परीक्षासमेत अवरुद्ध भएको थियो।
उद्योग वाणिज्य संघको संयोजन र जिल्लास्थित राजनीतिक दलका शीर्ष नेताहरूकोसमेत बन्दमा सहभागिता रहेको थियो। बिहान ६ बजेदेखि शुरू भएको बन्द स्थानीय बासिन्दाका लागि दैनिक उपभोग्य सामग्री जुटाउनका लागि भोलि बिहानसम्मका लागि बेलुका ५ बजे स्थगित भएको थियो। जुलुसपछि भएको कोणसभामा उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले सम्बोधन गरेका थिए।

बन्दपछि नेकपा एमालेको पार्टी कार्यालयमा सर्वपक्षीय बैठक सम्पन्न भएको छ। बैठकले ५ नम्बर प्रदेशलाई टुक्रनबाट बचाउनका लागि ११ सदस्यीय संघर्ष समितिको गठन गरेको छ। नेपाली कांग्रेसका जिल्ला सभापति विण्णुप्रसाद खनाल मुस्कानको अध्यक्षतामा गठित समितिको सदस्यहरूमा एमाले अध्यक्ष चेतनारायण आचार्य, माओवादी केन्द्रका संयोजक ठाकुरकुमार विक, राष्ट्रिय जनमोर्चाका अध्यक्ष झविलाल थापा, राप्रपाका नेता अम्मरबहादुर थापा, नयाँशक्ति पार्टीका गोकर्ण थापा, नेपाल परीवार दलका अध्यक्ष डिल्लीराज भुसाल, उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ, नेपाल पत्रकार महासंघ, अर्घाखाँची शाखाका अध्यक्ष शोभाखर पन्थी, अन्तरपार्टी महिला सञ्जालका अध्यक्ष सुशीला गैरे छन्।

प्रतिक्रिया दिनुहोस्