सिद्धार्थ बैंकको ‘महिला समृद्धि कर्जा’ सञ्चालनमा


काठमाडौं ।

सिद्धार्थ बैंक लिमिटेडले महिला उद्यमशीलता प्रवद्र्धन गर्ने उद्देश्यले ‘सिद्धार्थ महिला समृद्धि कर्जा’ सञ्चालनमा ल्याएको छ । महिला स्वामित्व वा नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला उद्यमलाई लक्षित गरी ल्याइएको यस कर्जा योजनाबाट महिला उद्यमीले सहज रूपमा कर्जा सुविधा पाउने भएका छन् ।

योजनाअन्तर्गत महिला उद्यमीले १५ लाख रुपैयाँसम्म बिना धितो, आंशिक धितोमा २५ लाख रुपैयाँसम्म र पूर्ण धितोमा ५० लाख रुपैयाँसम्म कर्जा प्राप्त गर्न सक्नेछन् ।

बैंकले इन्टरनेशनल फाइनान्स कर्पोरेशन (IFC) को प्राविधिक सहयोगमा विकास गरेको विशेष ‘स्कोरकार्ड’ प्रणालीमार्फत कर्जा मूल्यांकन गर्ने जनाएको छ । उक्त प्रणालीले धितोसँगै व्यवसायको प्रकृति, सञ्चालन अनुभव, वित्तीय अवस्था, नगद प्रवाह र उद्यमीको क्षमतालाई समेत आधार मानेर मूल्यांकन गर्ने बैंकले जनाएको छ ।

बैंकका अनुसार यस कर्जा योजनाले धितो अभावका कारण वित्तीय पहुँचबाट वञ्चित महिला उद्यमीलाई सहयोग पुग्नेछ । कर्जासम्बन्धी थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालन हुने ‘सिद्धार्थ केयर’ ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सकिनेछ ।