साउनका भक्तजनलाई सहज बनाउन पशुपति क्षेत्रमा सफाइ अभियान


काठमाडौं ।

साउन महिनामा भगवान् पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनको सहजताका लागि पशुपति क्षेत्र विकास कोषले सफाइ अभियान सुरु गरेको छ।

कोषले पहिलो दिन पशुपतिनाथ मूल मन्दिर क्षेत्रदेखि सूर्यघाटसम्म सरसफाइ गरेको जनाएको छ। साउन महिना र सोमबार भगवान् शिवको विशेष दिन मानिने भएकाले यस अवधिमा लाखौँ भक्तजन पशुपतिनाथ आउने गर्छन्।

कोषका कार्यवाहक सदस्य सचिव एवं कोषाध्यक्ष मीनाकुमारी श्रेष्ठका अनुसार अभियानलाई साउनभर आवश्यकताअनुसार निरन्तरता दिइनेछ। मूल मन्दिर बन्द भएपछि आइतबार अपराह्न सूक्ष्म सफाइ गर्ने योजना रहेको र अभियानमा सुरक्षा निकायलाई समेत सहभागी गराइने उहाँले बताउनुभयो।

पहिलो दिनको सफाइ अभियानमा दर्जनभन्दा बढी संघसंस्थाको सहभागिता रहेको थियो। कोषले नियमित रूपमा प्रत्येक हप्ताको शनिबार पनि सफाइ अभियान सञ्चालन गर्ने तयारी गरेको छ।