काठमाडौं।
फिफा विश्वकप फुटबलको दोस्रो क्वार्टरफाइनलमा शुक्रबार राति स्पेन र बेल्जियमबीच प्रतिस्पर्धा हुँदैछ। अमेरिकाको लस एन्जलसमा हुने खेल नेपाली समयअनुसार राति १२ः४५ बजे सुरु हुनेछ।
सेमिफाइनलमा स्थान सुरक्षित गर्ने लक्ष्यसहित मैदान उत्रने दुवै टोलीले अन्तिम १६ मा प्रभावशाली प्रदर्शन गरेका थिए। स्पेनले पोर्चुगलविरुद्ध निकै प्रतिस्पर्धात्मक खेलमा अतिरिक्त समयको पहिलो मिनेटमा मिकेल मेरिनोले गरेको गोलको मद्दतमा १–० को कठिन जित निकाल्दै क्वार्टरफाइनल यात्रा तय गरेको थियो।
यता, बेल्जियमले सहआयोजक अमेरिका माथि ४–१ को सहज जित निकाल्दै प्रतियोगितामा आफ्नो सबैभन्दा उत्कृष्ट प्रदर्शन दिएको थियो। समूह चरणमा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेको बेल्जियमले नकआउट चरणमा भने लय समातेको छ। टोलीले अन्तिम दुई खेलमा सात गोल गर्दै आक्रामक खेल प्रस्तुत गरेको छ।
स्पेन भने पछिल्ला केही वर्षयता बेल्जियमविरुद्ध उत्कृष्ट लयमा छ। दुई टोलीबीच भएका पछिल्ला ६ भेटमा स्पेन विजयी भएको छ र यही लयलाई निरन्तरता दिने लक्ष्यमा रहनेछ। युरो २०२४ को उपाधि यात्राका क्रममा क्रोएसिया, इटाली, जर्मनी, फ्रान्स र इङ्ग्ल्यान्डजस्ता बलिया टोलीलाई पराजित गरेको स्पेनबाट यस विश्वकपमा पनि उच्च प्रदर्शनको अपेक्षा गरिएको छ।
यद्यपि, जारी विश्वकपमा स्पेनले अपेक्षाअनुसार आक्रामक खेल देखाउन सकेको छैन। त्यसैले बेल्जियमविरुद्ध टोलीले आफ्नो वास्तविक क्षमता प्रदर्शन गर्ने प्रयास गर्नेछ। उता, अमेरिकामाथिको प्रभावशाली जितबाट उत्साहित बेल्जियम पनि त्यही लय कायम राख्दै पहिलो पटक यस संस्करणको सेमिफाइनल पुग्ने लक्ष्यमा हुनेछ।
यसअघि सम्पन्न पहिलो क्वार्टरफाइनलमा फ्रान्सले मोरक्कोलाई २–० ले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको छ।











प्रतिक्रिया