के अर्जेन्टिनालाई उपाधि दिलाउन तयारी भइरहेको हो ?


लन्डन, (एजेन्सी)

जारी विश्वकपमा अर्जेन्टिनाले हरेक खेलमा शीर्ष १० भन्दाबाहिरका टोलीसँग खेलिरहँदा विश्व फुटबलमा एउटा चर्चा चुलिएको छ । त्यो हो अर्जेन्टिनालाई सजिलो बाटोबाट फाइनल पु¥याएर उपाधि दिलाउन तयारी भइरहेको छ । के यो चर्चा भए झैं यस्तै भइरहेको छ त ?

डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले विश्वकप उपाधि रक्षा गर्न भएभरको शक्ति प्रयोग गरिरहेको छ । समूह चरणमा अल्जेरिया, अस्ट्रिया र जोर्डन जस्ता कमजोर टोलीलाई जित्न अर्जेन्टिनालाई त्यति गाह«ो भएन । तर, केप भर्डे र इजिप्टविरुद्धका नकआउट चरणका खेलमा भने अर्जेन्टिानाले निकै संघर्ष गर्दै ३–२ को जित हात पारेको थियो ।

यसमा इजिप्टविरुद्धको जितपछि भने विवाद चर्किएको छ । अन्तिम १६ को खेलमा पराजित भएपछि इजिप्टले उक्त खेल सञ्चालन गर्ने रेफ्री टोलीलाई प्रतियोगिताबाट हटाउन फिफासँग माग गरेको छ । इजिप्टले अर्जेन्टिनाको पक्षमा झुकाव देखाइएको र अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेसीप्रति विशेष व्यवहार गरिएको आरोप लगाएको छ ।

खेलपछि इजिप्टका प्रशिक्षक होसाम हसनले आफ्नो टोलीलाई ‘अन्यायपूर्ण व्यवहार’ गरिएको र ‘अन्याय सहनुपरेको’ बताएका थिए । हसनले फिफामाथि समेत अप्रत्यक्ष रूपमा पक्षपातको आरोप लगाए । उनले भने, ‘सायद उनीहरू विश्व विजेतालाई प्रतियोगितामा राख्न चाहन्थे । सायद उनीहरू मेसीलाई दौडमा कायम राख्न चाहन्थे ।’

बीबीसीले अर्जेन्टिनालाई सफल बनाउन सबै कुरा मिलाइएको भन्ने षड्यन्त्र सिद्धान्तमा कति आधार छ भन्ने विषयमा विश्लेषण गरेको छ । त्यसकै आधारमा यो रिपोर्ट प्रस्तुत गर्दैछौं ।

मंगलबारको ३–२ को हारपछि इजिप्ट निराश हुनु स्वाभाविक थियो । अफ्रिकी टोली ११ मिनेट बाँकी रहँदा २–० ले अघि थियो र पहिलोपटक विश्वकपको क्वार्टरफाइनल पुग्ने ऐतिहासिक उपलब्धिको नजिक थियो । तर, त्यसपछि खेल नाटकीय शैलीमा परिवर्त भयो । अर्जेन्टिनाले जबर्जस्त पुनरागमन गर्दै खेल बराबरीमा ल्यायो र स्टपेज टाइममा विजयी गोल ग¥यो ।

इजिप्टले भने आफ्नो हारमा सामान्य फुटबलभन्दा बढी शंकास्पद रहेको दाबी गरेको छ । फ्रान्सेली रेफ्री फ्रान्स्वा लेटेक्सिएर र उनको टोलीबाट ‘गम्भीर रेफ्री गल्ती’ तथा ‘दोहोरो मापदण्ड’ देखिएको इजिप्टको आरोप छ ।

इजिप्टको एक गोल भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) को हस्तक्षेपपछि रद्द गरिएको थियो । उनीहरूले अर्जेन्टिनाको विजयी गोल पनि रद्द हुनुपर्ने र त्यसअघि आफूहरूलाई पेनाल्टी दिइनुपर्ने दाबी गरेका छन् ।

मोस्तफा जिकोले गरेको उत्कृष्ट गोल रद्द भएको थियो । उक्त मुभको सुरुवातमा मारवान अटियाले लिसान्द्रो मार्टिनेजको खुट्टामा टेकेको भन्दै फाउल दिइएको थियो । निर्णय विवादास्पद थिया े। तर, त्यतिबेला इजिप्ट १–० ले अघि थियो र त्यसको नौ मिनेटपछि उसले दोस्रो गोल पनि गरेको थियो । यदि जिकोको गोल कायम भएको भए खेलको दिशा फरक हुन्थ्यो भन्ने कुरा प्रमाणित गर्न भने कठिन छ ।

इजिप्टले एन्जो फर्नान्डेजले निर्णायक गोल गर्नुअघि आफूहरूको पक्षमा दुई सम्भावित पेनाल्टी हुनुपर्ने दाबी गरेको छ । हम्दी फाथीले एलेक्सिस म्याक एलिस्टरले आफूलाई समातेको दाबी गर्दै मैदानमा लडेका थिए, तर रिप्लेमा त्यो स्पष्ट देखिएको थिएन । त्यस्तै, मोहम्मद सलाहले जुलियन अल्भारेजले आफूलाई लडाएको महसुस गरेका थिए ।

मार्टिनेज र सलाहसँग सम्बन्धित घटनामा केही समानता देखिन्थ्यो, विशेषगरी खुट्टामा खुट्टा लाग्ने प्रकृतिको सम्पर्क । तर, त्यसलाई पेनाल्टी दिन पर्याप्त ठोस आधार भने देखिएन । यदि सलाह पेनाल्टी क्षेत्रमा बाहिर रहेका भए इजिप्टको गोल रद्द गराउने सम्भावना बलियो हुन सक्थ्यो ।

त्यस्तो अवस्थामा भीएआरले केवल फाउल भयो कि भएन भन्ने निर्णय लिन्थ्यो, जस्तै मार्टिनेजको घटनामा गरिएको थियो । तर, पेनाल्टीको सवालमा निर्णयको मापदण्ड अझ कडा हुन्छ । निर्णयहरू विवादास्पद थिए भन्नेमा शंका छैन । तर, यी घटनाहरूलाई मेसी वा अर्जेन्टिनाको पक्षमा षड्यन्त्र भएको प्रमाण भन्नु भने कठिन छ ।
अर्जेन्टिनालाई सजिलो प्रतिद्वन्द्वी
फिफाले गत डिसेम्बरमा विश्वकप ड्र गर्दा फिफा वरियताका शीर्ष चार टोलीलाई चार भाँडोमा राखेको थियो । फ्रान्स, अर्जेन्टिना, स्पेन र इंग्ल्यान्डमा फ्रान्स र स्पेन तथा अर्जेन्टिना र इंग्ल्यान्ड सेमिफाइनलमा भेट्ने गरी मिलाइएको थियो । अर्जेन्टिनाले ६७ औं वरियतामा रहेको केप भर्डे र २९ औं वरियतामा रहेको इजिप्टसँग खेलिसकेको छ । क्वार्टरफाइनलमा पनि अर्जेन्टिनाले स्वीट्जरल्यान्ड (१९ औं वरियताको) सँग खेल्दैछ ।

उता स्पेनले भने पाँचौं वरियतामा रहेको पोर्चुगलसँग अन्तिम १६ मै खेल्नु परेको थियो । स्पेनले क्वार्टरफाइनलमा पनि शीर्ष १० भित्रकै टोली बेल्जियम प्रतिद्वन्द्वी पाएको छ । फ्रान्सले पनि क्वार्टरफाइनलमा सातौं वरियतामा रहेको मोरक्कोसँग खेल्नु परेको छ ।

सर्वाधिक पेनाल्टी

गत विश्वकपमा उपाधि जित्दा अर्जेन्टिनाले ५ पेनाल्टी गोल सहायक बनेको थियो । यो विश्वकप इतिहासमा एउटै प्रतियोगितामा कुनै पनि टोलीले सर्वाधिक पेनाल्टी पाएको कीर्तिमान बनेको थियो । जारी विश्वकपमा पनि अर्जेन्टिनाले ३ पेनाल्टी प्राप्त गरिसकेको छ । सबै पेनाल्टी मेसीले प्रहार गरेका थिए । जसमा उनी दुईमा (अस्ट्रिया र इजिप्टविरुद्ध) पेनाल्टी गोल गर्न असफल भएका थिए ।