आत्मदाह घटनामा बस्नेतको चिन्ता, बालेन सरकारमाथि आरोप


काठमाडौँ ।

नेकपा एमालेका नेता महेश बस्नेतले पछिल्लो समय बढिरहेका आत्मदाहका घटनाप्रति चिन्ता व्यक्त गर्दै सरकारमाथि प्रश्न उठाएका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै बस्नेतले नागरिकमा बढ्दो निराशा, आक्रोश र असहायपनका लागि वर्तमान बालेन सरकार जिम्मेवार रहेको आरोप लगाए।

उनले गणेश नेपालीको आत्मदाहपछि सर्लाहीको गोडैता नगरपालिकाका २५ वर्षीय विवेक मण्डल र काठमाडौँ बुद्धनगरका ४५ वर्षीय अश्विन राउतले आत्मदाहको प्रयास गरेको उल्लेख गर्दै यी घटनालाई दुःखद भनेका छन्। उनले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन्।

बस्नेतले नेतृत्वले जनतालाई भ्रम नभई भरोसा दिनुपर्ने भन्दै समस्या समाधानका लागि संवाद, जिम्मेवारी र सुशासन आवश्यक रहेको बताए। उनले जीवनभन्दा ठूलो केही नभएको उल्लेख गर्दै आत्मदाह कुनै समस्याको समाधान नभएको स्पष्ट पारे।

सरकारले जनताको असन्तुष्टि सम्बोधन गर्न नसके आक्रोश बढ्ने चेतावनी दिँदै बस्नेतले त्यसको राजनीतिक असर बालेन सरकारमाथि पर्ने दाबी गरे।