नक्कली शरणार्थी प्रकरण: बालकृष्ण खाण संगठित अपराधको मतियार ठहर


काठमाडौँ।

बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतले पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई संगठित अपराध र ठगी मुद्दामा मतियार ठहर गरेको छ।

न्यायाधीश तेजबहादुर खड्काको इजलासले मंगलबार सुनाएको फैसलाअनुसार खाणलाई मुख्य योजनाकार नभई संगठित अपराध र ठगीमा मतियारको भूमिका निर्वाह गरेको ठहर गरिएको हो।

अदालतको निष्कर्षअनुसार खाण गृहमन्त्री रहेका बेला भुटानी शरणार्थी समस्या समाधानका लागि गठित बालकृष्ण पन्थी नेतृत्वको कार्यदलको प्रतिवेदनमा नक्कली नाम समावेश गर्न र गिरोहलाई सहज हुने गरी मन्त्रिपरिषद्मा प्रस्ताव लैजान भूमिका खेलेका थिए। अभियोजन पक्षले उनीमाथि गिरोहका सदस्यसँग आर्थिक लेनदेन गरेको तथा प्रमाण लुकाउने प्रयास गरेको आरोप लगाए पनि अदालतले उनलाई मुख्य कसूरदार नभई मतियारका रूपमा दोषी ठहर गरेको हो।

सोही प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहसचिव टेकनारायण पाण्डे र पूर्वगृहमन्त्रीका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राईलाई भने अदालतले मुख्य कसूरदार ठहर गरेको छ। यस्तै, केशवप्रसाद दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई र गोविन्द चौधरीलाई ठगी, संगठित अपराध तथा राज्यविरुद्धको कसूरमा दोषी ठहर गरिएको छ। भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई पनि मतियारका रूपमा कसूरदार ठहर गरिएको अदालतले जनाएको छ।

अदालतले यसै प्रकरणमा सन्दीप रायमाझी, रामशरण केसी, प्रतीक थापा, लक्ष्मी महर्जन, केशव तुलाधर र आशिष बुढाथोकीलाई भने अभियोगबाट सफाइ दिएको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जनाविरुद्ध मुद्दा दायर गरिएको थियो। दोषी ठहर भएका प्रतिवादीहरूको सजाय निर्धारणका लागि अदालतले असार २९ गते पेसी तोकेको छ। सोही दिन कैद र जरिवानासम्बन्धी अन्तिम फैसला हुने छ।