काठमाडौं ।
एमबीबीएस तथा बीडीएस इन्टर्न चिकित्सकहरूले स्टाइपेन्डसम्बन्धी निर्णय तत्काल कार्यान्वयन गर्न माग गर्दै प्रदर्शन गरेका छन्।
एमबीबीएस तथा बीडीएस इन्टर्न संघर्ष समितिको नेतृत्वमा शनिबार भएको प्रदर्शनमा सहभागी चिकित्सकहरूले शिक्षा मन्त्रालयले गरेको इन्टर्न मेडिकल अफिसरको स्टाइपेन्ड ७५ प्रतिशत पुर्याउने निर्णय कार्यान्वयन हुनुपर्ने माग गरेका हुन्।
संघर्ष समितिका सह–संयोजक विकासकुमार शाहले इन्टर्न चिकित्सकहरू व्यक्तिगत स्वार्थका लागि नभई श्रमको सम्मान, उचित पारिश्रमिक र भावी मेडिकल विद्यार्थीहरूको भविष्य सुनिश्चित गर्न आन्दोलनमा उत्रिएको बताउनुभयो।
उहाँका अनुसार शिक्षा मन्त्रालयले अध्ययन समिति गठन गरी स्टाइपेन्ड वृद्धि गर्ने निर्णय गरे पनि चिकित्सा शिक्षा आयोग (एमईसी) को पूर्ण बैठक नबस्दा निर्णय कार्यान्वयन हुन सकेको छैन।
शाहले सरकारलाई तत्काल आयोगको पूर्ण बैठक बोलाएर निर्णय अनुमोदन गरी लागू गर्न आग्रह गर्नुभयो। जायज माग पूरा भए आफूहरू आन्दोलन अन्त्य गरी अस्पताल फर्केर बिरामीको सेवामा जुट्न तयार रहेको उहाँको भनाइ छ।
प्रदर्शनकारीहरूले ‘प्रतिवेदन कार्यान्वयन गर’, ‘इन्टर्नमाथिको विभेद अन्त्य गर’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए। माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने उनीहरूले चेतावनी दिएका छन्।











प्रतिक्रिया