कृषि सामग्रीमा कालोबजारी भए तत्काल कारबाही हुन्छ : मन्त्री चौधरी


काठमाडौँ। 

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कृषि क्षेत्रमा कालोबजारी, कृत्रिम अभाव सिर्जना गर्ने तथा कृषि सामग्री लुकाएर मूल्यवृद्धि गर्ने गतिविधि भए तत्काल जानकारी गराउन आग्रह गर्नुभएको छ ।

चितवनका विभिन्न स्थानमा कृषि क्षेत्रको छड्के अनुगमन गर्दै मन्त्री चौधरीले किसान, उपभोक्ता तथा सर्वसाधारणलाई यस्ता गतिविधिबारे मन्त्रालयको हटलाइनमा सूचना दिन अनुरोध गर्नुभयो । उजुरी प्राप्त हुनासाथ सम्बन्धित निकाय परिचालन गरी अनुगमन गरिने र दोषीमाथि कानुनअनुसार कडा कारबाही गरिने उहाँले बताउनुभयो ।

अनुगमनका क्रममा मन्त्री चौधरीले किसानसँग मल, बीउ, विषादीको उपलब्धता, उत्पादन लागत, सिँचाइ, बजार व्यवस्थापनलगायत समस्याबारे जानकारी लिनुभयो । किसानका गुनासा समाधानका लागि सम्बन्धित निकायलाई तत्काल पहल गर्न निर्देशन दिँदै उहाँले कृषि उत्पादन वृद्धि र किसानको हित संरक्षण सरकारको प्राथमिकतामा रहेको बताउनुभयो ।