काठमाडौं ।
वैदेशिक रोजगारीका नाममा विभिन्न देश पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गर्ने आरोपमा प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट ६ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभन देखाउँदै टर्की, बेलारुस, रोमानिया, संयुक्त अरब इमिरेट्स (यूएई) लगायतका देशमा रोजगारीका लागि पठाइदिने भन्दै रकम उठाएर लामो समयसम्म झुक्यानमा राखी सम्पर्कविहीन भएको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा खोटाङ खोटेहाङ गाउँपालिका–५ का ४१ वर्षीय निरोज राई रहेका छन्। उनले टर्की पठाइदिने भन्दै एक पीडितबाट रु. ७ लाख ९० हजार ठगी गरेको आरोप छ। उनलाई काठमाडौंको सुकेधाराबाट पक्राउ गरिएको हो।
यस्तै, वैदेशिक रोजगार सम्बन्धी कसूर मुद्दामा पक्राउ अनुमति जारी भएर फरार रहेका सुमन ढकाल र किशोर गर्तौलालाई पनि प्रहरीले ज्ञानेश्वरबाट पक्राउ गरेको छ। चितवन भरतपुर महानगरपालिका–२५ स्थायी घर भएका २८ वर्षीय ढकाललाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जनाएको छ।
त्यसैगरी, ताप्लेजुङ याङवरक गाउँपालिका–२ का ४८ वर्षीय उमेश लिम्बुले बेलारुस पठाइदिने भन्दै रु. ५ लाख ठगी गरेको आरोपमा टोखाबाट पक्राउ परेका छन्।
तनहुँ व्यास नगरपालिका–७ की २१ वर्षीया सचिता परियारलाई रोमानिया पठाइदिने भन्दै रु. १ लाख ५० हजार ठगी गरेको आरोपमा काठमाडौं महानगरपालिका–३ बाट पक्राउ गरिएको छ।
यसैगरी, सिन्धुली घ्याङलेख गाउँपालिका–४ का ३६ वर्षीय कुनसाङ लामालाई यूएई पठाइदिने भन्दै रु. २ लाख ७ हजार ठगी गरेको आरोपमा बुढानिलकण्ठबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले वैदेशिक रोजगारीका नाममा हुने ठगीप्रति सचेत रहन सर्वसाधारणलाई आग्रह गर्दै वैदेशिक रोजगारीमा जानुअघि सम्बन्धित म्यानपावर कम्पनी र प्रक्रिया अनिवार्य रूपमा प्रमाणित गर्न सुझाव दिएको छ।
यसैबीच, लागुऔषध (खैरो हेरोइन) मुद्दामा फरार रहेका बाँकेको कोहलपुर नगरपालिका–१२ चप्परगौडीका २७ वर्षीय सागर श्रेष्ठलाई पनि प्रहरीले काठमाडौंको बालाजुबाट पक्राउ गरेको छ। उनी बाँके जिल्ला अदालतको २०८० साउन २२ गतेको फैसलाअनुसार ५ महिना कैद तथा पीडित राहत कोषमा रु. २०० क्षतिपूर्ति तिर्नुपर्ने सजायबाट फरार रहेका थिए। पक्राउपछि उनलाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ।











प्रतिक्रिया